दाङ : नेपाली कांग्रेस घोराही उपमहानगरको दोस्रो नगर सम्मेलन शनिवार हुने भएको छ । चैत १० गते शनिवार घोराही उपमहानगरपालिका २ को रामपुरमा हुने दोस्रा नगर सम्मेलनको सबै तयारी पुरा भएको नेपाली कांग्रेस घोराही नगर समितिले जनाएको छ । शनिवार बिहान साढे ११ बजेदेखि सुरु हुने दोश्रो सम्मेलनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदिप पौडेल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस घोराही नगर समितिका प्रवक्ता सुरज बुढाथोकीले जानकारी दिएका छन् । सम्मेलनमा नगर कार्यसमितिले गरेका सांगठनिक गतिविधि तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुने भएको छ ।
बदलिदो राजनीतिक घटनाक्रममा नेपाली कांग्रेसको भूमिकालाई अझै प्रभावकारी बनाउन नगर सम्मेलनमा घनिभूत छलफल हुने र नेपाली कांग्रेसलाई थप उचाइमा पुराउन सम्मेलन फलदायी हुने नेपाली कांग्रेस घोराहीका नगर सभापति तिलक रावतले बताए । पार्टीले लिएको निती र विचारलाई सम्मेलन मार्फत आम नागरिकमा पुराउनका लागि पनि सम्मेलन फलदायी हुने सभापति रावतको भनाइ छ ।
नगर प्रवक्ता बुढाथोकीले दोश्रो नगर सम्मेलनमा उपस्थितिका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति तथा सदस्यहरू, जिल्ला कार्यसमिति, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति तथा सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रका कार्यसमिति तथा सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरेका छन् । त्यसैगरी प्रदेश प्रतिनिधिहरू, नगर कार्यसमिति तथा सदस्य, प्रतिनिधि, टोल कार्यसमिति, क्रियाशील सदस्य तथा भातृ संघ एवं शुभेच्छुक सङ्घसंस्थाका पदाधिकारी तथा सदस्य, जनप्रतिनिधि, पत्रकारलगायत नेपाली काङ्ग्रेसप्रति आस्थावान सम्पूर्णलाई सम्मेलनमा उपस्थितिका लागि नेपाली कांग्रेस घोराही नगर कार्यसमितिले आग्रह गरेको छ ।