दलित र गैरदलित बिच विवाह गर्ने ११ जोडीलाई सम्मान 

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र ८ गते बिहिवार

 

दाङ :   दंगीशरण गाउँपालिकाले दलित र गैरदलित बिच विवाह गरेका ११ जोडीलाई सम्मान गरिएको छ ।  बिहीबार गाउँपालिकाको आयोजना तथा दलित महिला संघ फेडोको सहकार्यमा ५९ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस विविध कार्यक्रम गरी मनाएको छ । गाउँपालिकाले दिवसको अवसरमा दलित र गैरदलित बिच अन्तरकृया तथा जातीय विभेद तथा छुवाछुत उन्मूलनमा गैर दलितको भूमिका विषयक व्यक्तित्व कला प्रतियोगिता तथा गाउँपालिकाभित्र दलित र गैरदलित बिच अन्तरजातीय विवाह गर्ने ११ वटा जोडीलाई दोसल्ला तथा प्रमाणपत्र सहित सम्मान गरेको छ । 

कार्यक्रममा बोल्ने वक्ताहरूले जातीय बिभेद तथा छुवाछुत उन्मूलनका लागी सरकारले जति निती कानुन तथा कार्यक्रम ल्याए पनि अझै कार्यान्वयन गर्ने कुरामा चुनौती देखिएको बताएका छन् । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सरकारले छुवाछुत तथा जातीय बिभेद अन्त्य गर्न जति कार्यक्रम ल्याए पनि कहिँकतै छिटपुट रुपमा छुवाछुत तथा जातीय बिभेद हुने गरेको प्रति दुख व्यक्त गरे । अर्को प्रसङ्गमा बोल्दै अध्यक्ष गिरीले  गाउँपालिकामा दलित छुवाछुत तथा जातीय बिभेद तथा दलितलाई होच्याउने तथा अपमानित शब्दहरू कसैले कसैलाई नगर्न र यदि कहिँकतै त्यस्तो भए गाउँपालिकाको न्यायिक समिति मार्फत आउन र तमुहरू तत्काल कारवाही गर्न तयार रहेको बताए। 

आफूहरू निर्वाचित भएर आइसकेपछि भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकासलाई जोड दिँदै  समाजमा हरेक हिसाबले पछाडि पारिएका दलित, जनजाति, अपाङ्गता सीमान्तकृत, विपन्नको सवालमा आफ्ना कार्यक्रमहरू प्राथमिकताका साथ अगाडि बढाएको बताए । यस वर्षको बजेटमा पनि दलित लक्षित कार्यक्रम गरेको तथा दलित विधेयकलाई समेत सभामा लगेर पास गर्नेगरी अगाडि बढेको अध्यक्ष गिरीको भनाइ छ । यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले आफू न्यायिक समितिको संयोजकका तर्फबाट जातीय बिभेदका घटनाहरू आउने गरेको र आफूले दलितका सवालहरूमा न्याय दिँदै अगाडि बढेको बताइन् ।

पछिल्लो समयमा अझैपनि कतिपय अशिक्षित व्यक्तिले जातीय बिभेद र छुवाछुत गर्ने गरेको बताइन् । दलित सम्बन्धी जातीय विभेद र छुवाछुत सम्बन्धी ऐन कानुन बनेतापनि कार्यान्वयनमा कमी भएको प्रति दुख व्यक्त गरिन् । ५९ औं अन्तर्राष्ट्रिय जातीय बिभेद उन्मूलन दिवसको अवसर पारि आयोजना गरेको वक्तृत्वकला  प्रतियोगितामा बिरेन्द्र नमुना माध्यमिक विद्यालय  हेकुलीका रञ्जित चौधरी प्रथम, बिरेन्द्र माध्यमिक विद्यालय हेकुलीकै क्रान्ति परियार द्वितीय र सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालय श्रीगाउँका निरज देवकोटा तृतीय भएका हुन । कार्यक्रम  गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता जिल्ला समन्वय समिति दाङका सदस्य टोपाराम चौधरी र निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनोद अधिकारीको विशिष्ट आथित्यता मा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार