बाँके : बाँकेमा प्रहरीले दुर्लभ पाटे बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका २ पाक्माका २८ वर्षीय चन्द्र बहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बुधबार बाँकेको नेपालगन्ज २ पुष्पलाल चोक स्थित रोयल महाबुब होटलमा बाघको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारका जिप्रका बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी नारायण डाँगीले जानकारी दिए ।
प्रहरीका अनुसार उनले झोलामा लुकाइ राखेको अवस्थामा ५ फिट ९ इन्च लम्बाइ , ३ फिट २ इन्च चौडाइ भएको पाटे बाघको छाला बरामद भएको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि अघि बढाइएको प्रहरीले जनाएको छ ।