दाङ : तुलसीपुर उपमहानगरपालिका १७ हेमन्तपुरकी ३७ वर्षीया सिरानी घर्तीले मोबाइलमा घन्टी बज्ने बित्तिकै श्रीमानको फोन आयो, कि भनेर झट्टपट्ट फोन हेर्नु हुन्छ । तर, श्रीमानको फोन हुँदैन । यस्तै आसमा बसेको उनी करिब ५ महिना हुन लाग्यो । उनको श्रीमानसँग सम्पर्क भएको छैन् । ३८ वर्षीय श्रीमानको हातमा फोटो हुन्छ, भने सिरानीलाई शिरमा ऋणको भारी रहेको छ । २ छोरा र एक छोरीसहित उनी श्रीमानको फोन आउने आसमा बस्दै आइरहेकी छन् । पूर्व नेपाली सेना समेत रहेका मैतमान घर्तीले काठमाडौँमा सेक्युरिटी गर्दै आएका थिए । तर, उनलाई सेक्युरिटी गरेर घरपरिवार र छोराछोरीको भविष्यको लागि आर्थिक अभाव हुने भन्दै विदेश जाने सोच बनाएका थिए ।
काठमाडौँमा रहेका उनले युरोप जानको लागि तयार समेत गरेका थिए । युरोपमा जान समय लाग्ने भएपछि उनी भिजिट भिसामा विदेश जाने भनेर श्रीमतीलाई कात्तिक ३ / ४ गते तिर पैसाको जोह गर्न लगाए । श्रीमती सिरानीले पनि श्रीमानले भने अनुसार आफन्तबाट सरसापट गरेर करिब १२ लाख काठमाडौँ श्रीमानलाई पठाइदिन । उनलाई लागेको थियो, श्रीमान भिजिट भिसामा गएर छिट्टै आउनुहुन्छ, होला । मैतमान गत कात्तिक ६ गते नेपालदेखि दुबई भिजिट भिसामा उडे । उनले उड्नु भन्दा अगाडि घर फोन गरेका थिए, भने कुन देश जान लागेको भन्ने समेत भनेका थिएनन् । उनले पीर नमान्नु भनेका थिए ।
उनी विदेश जानको लागि एयरपोर्टमा पुगेको बेला फोन सम्पर्क हुँदा तपाई कुन देश जाँदै हुनुहुन्छ, भनेर सोध्दा म अहिले चेकिङमा छु, अरु मान्छेहरूलाई लग्ने ठाउँ भन्दा फरक ठाउँमा ल्याएको छ , हामीलाई फरक बाटो एयरपोर्ट छिराएको छ, अहिले भन्न मिल्दैन्, भनेर जवाफ दिएका थिए । उनी नेपालबाट दुबई भिजिट भिसामा गएका थिए ।दुबई गएको भोलिपल्ट फेरि घरमा फोन गरेर म दुबई आएको छु । आज रुसमा जाँदैछु, भनेका थिए । उनले भनिन्,‘ मलाई त रुस पनि भिजिट भिसामा जान लाग्नुभएको होला । त्यहाँ केही काम गरेर छिट्टै आउनु हुन्छ, भन्ने लागेको थियो । तर, उहाँले म रुसी सेनामा भर्ना हुन जाने हो ? भनेपछि मेरो मनमा निकै डर लाग्यो । अहिले त्यहाँ लडाइ भएको हुँदा किन भर्ना हुने भनेर भन्दा केही हुँदैन, भनेर भन्नुभयो । यदि नेपालबाट रुस जान लागेको थाहा पाएको भए मैले जान दिदैनथे । ’
मैतमानले उनलाई एक वर्षको सम्झौता हुने र एक वर्षपछि मात्र फर्किने कुरा गरेका थिए । श्रीमानले उनलाई तिन महिनासम्म तालिम गराउने र त्यसपछि मात्र लडाइमा लग्ने कुरा गरेका थिए । तालिम र खानपिन कस्तो छ, भनेर आफूले सोध्दा श्रीमान पूर्व नेपाली सेना भएको हुँदा नेपालको भन्दा त्यस्तो अप्ठेरो नभएको र खानपिन पनि राम्रै रहेको भनेर भनेको उनको भनाइ छ । मैतमानले आफूसँगै १५ जना नेपालीहरू रहेको र चिन्ता नमान्न समेत आग्रह गरेका थिए । उनले भनिन्,‘ श्रीमतीहरूलाई ३ महिना तालिम दिने भनेको एक महिना मै तालिम सकिएछ । गत मंसिर १२ गतेसम्म श्रीमान सम्पर्कमा आउनु भएको थियो । त्यही बेला श्रीमानले १५ / २० दिनको लागि फोन नलाग्ने ठाउँमा जाँदैछु । सम्पर्क हुँदैन, उताबाट आएपछि कुरा गरौँला भन्नुभयो । त्यसपछि अहिलेसम्म कुनै खबर भएको छैन् । हामी निकै चिन्तामा रहेका छौँ ।’
प्रत्येक दिन श्रीमान सम्पर्क आउनु हुन्छ, की भनेर आशै आसमा अहिलेसम्म बसिरहेको भन्दै उनले एकातिर श्रीमानको कुनै अत्तोपत्तो छैन्, अर्कोतर्फ ऋण लिएको पैसा माग्न सुरु गरेका भन्दै आफू निकै पीडामा रहेको बताइन् ।यस्तै उनले दुबइबाट रुस जादा श्रीमानसँगै विजय बहादुर ठोकर, निराजन बहादुर मगर र पूर्ण बहादुर गुरुङ गएको भन्ने कुरा थियो । उहाँहरु कताको हुनुहुन्छ, आफूलाई केही थाहा नभएको भन्दै उनले यदि उहाँहरूले आफ्ना श्रीमानको बारेमा थाहा पाएमा जानकारी दिन समेत आग्रह गरेकी छन् । यस्तै उनले आफ्ना दुई छोराहरू साना भएको हुँदा बुवा विदेश गएको मात्र थाहा पाएको र छोरी ठुली भएको हुँदा बुवा किन युद्ध चलिरहेको देशमा गएको भन्ने चिन्ता मान्ने गरेको पनि बताइन् । यस्तै लामो समयदेखि श्रीमानको कुनै खबर नभएको भन्दै उनले नेपाल सरकारलाई आफ्ना श्रीमानको बारेमा खोजी गरिदिन आग्रह गरेकी छन् ।
उनले भनिन्,‘ अहिलेसम्म कुनै पनि खबर आएको छैन् । हामीलाई अब सरकारले सास वा लाश भएपछि ल्याइदियोस्, भन्ने रहेको छ । अहिले धेरै नेपालीहरू रुसमा गएर सेना बनेको हुँदा सरकारले आफ्ना नेपालीहरूलाई चाँडो भन्दा चाँडो फिर्ता ल्याउनु पर्ने र रुस जानको लागि कडाइ गर्नुपर्छ । ’ यस्तै मैतमानका आफन्ती टेक बहादुर बुढामगरले पनि गरिबीका कारण अहिले मानिसहर धन पैसा कमाउने लोभका रुसमा गइरहेको भन्दै यस्तो कार्य सरकारले कडाइका साथ रोक्नु पर्ने बताए । उनले भने,‘ हाम्रो मान्छे सम्पर्क नआएको धेरै समय भएको छ । हाम्रो मान्छे पनि धनपैसा कमाउने आशमा युद्ध चलिरहेको देशमा गएको हो । धेरै नेपाली युवाहरू अहिले यसरी नै त्यहाँ गएका छन् । कतिको ज्यान गएको छ, भने कतिले निकै दुख पाएका छन् । राज्यले यसतर्फ ध्यान दिन जरुरी छ ।’
यस्तै छिमेकी बैस रोकामगरले नेपाल सरकारले रोजगारीका लागि त्यस्तो ठाउँमा गएका युवाहरूलाई तुरुन्त नेपाल फर्काउनको लागि चासो दिनु पर्ने बताइन् । उनले पनि आफ्ना छिमेकीको अहिलेसम्म कुनै खबर नहुँदा परिवारले निकै समस्या पाइरहेको भन्दै सरकारले मैतमानको बारेमा खोजी कार्य गरिदिनु पर्ने समेत बताए । उनले भनिन्,‘ सरकारले अब लाश वा सास नेपालमा ल्याइदियोस्, भन्ने हामीहरू सबैको चाहना हो । ’