इप्रका तुलसीपुरमा चालु आर्थिक वर्षको अहिलेसम्म  ३९७ मुद्दा मध्य २२८ फर्छ्यौट

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र ३ गते शनिवार

दाङ :  इलाका प्रहरी कार्यालय तुलसीपुरले सूचनाको सहज पहुँचका लागि विभिन्न कार्यहरू गरेको जनाएको छ । शुक्रवार शान्ति सुरक्षा तथा समसामयिक विषयमा सञ्चारकर्मीसँगको भेटघाट अन्तरक्रियामा इप्रका तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोख्रेलले नवीनतम कार्यहरू सुनाउँदै इप्रका तुलसीपुरको कक्षमा रहेका थुनुवाहरूको लागि पुस्तकालय राखिएको, मोबाइल गाडीको लागि क्यूआर, राप्ती प्रादेशिक अस्पतालको लागि र उजुरी शाखाको लागि छुट्टा छुटै मोबाइल सेट र मोबाइल नम्बरको व्यवस्था गरेको बताए  ।

उनले  कुनै घटना भएमा सम्पर्क गर्न र सहजै सूचना आदान प्रदान गर्न ४ स्थानमा मोबाइल सेट राखिएको बताए । उनका अनुसार  मोबाइल गाडीको लागि ९७६४३४७९४५, क्यूआरको लागि ९७६४३४७९४४, राप्ती प्रादेशिक अस्पतालको लागि ९७६४३४७५६३, र उजुरी शाखाको लागि ९७६४१९५९६६ मोबाइल सेट राखिएको छ ।  उनले  भने,‘ अव केही जानकारी दिन तथा सूचना लिन १०० र कार्यालय प्रमुखलाई खोज्नु पर्दैन, आवश्यक कामका लागि मोबाइलमा जान बझ्न पाइन्छ  । सानातिनो कामका लागि कार्यालयमै आउने र आफूलाई सोध्नु पर्दैन ।  उजुरीको विषयमा केही जानकारी लिनु परे उजुरी शाखाको नम्बर छ,  केही घटना भयो भने मोबाइल गाडीका लागि पनि नम्बर छ, अव कार्यालयमै जानकारी गराउनुपर्छ भन्ने होइन सहज छिटो र छरितो सूचना लिन दिन सकिन्छ । ’

त्यस्तै उनले  आफ्नो अल्पकालिक योजनामा कार्यालय परिसरमा शुद्ध पिउने पानीको लागि युरो कार्ड राख्ने, प्रहरी कार्यको सूचना प्रवाहको लागि डिजिटल बोर्ड राख्ने, क्यूआरको लागि मोटरसाइकल २ वटा थप गर्ने, महिला बालकालिका शाखाको भवन लगायतका योजना रहेको बताए ।  इप्रका तुलसीपुरको प्रमुख भएर  आफू आएको ६ महिना बितेको भन्दै ६ महिनामा विभिन्न अपराध अनुसन्धानका लागि गतिविधि गरेको पनि बताए ।

उनका अनुसार चालु आर्थिक वर्ष २०८० / ८१ मा कार्यालयमा ३९७ मुद्दा रहेको र ति मध्य २२८ फर्छ्यौट भएका छन् । ५६ वटा अनुसन्धानको प्रकृयामा र ११३ वटा पेन्डिङ मै रहेको उनको भनाइ छ ।   यस्तै  विभिन्न मुद्दामा  ३०९ जना पुरुष र १३ जना महिला गरी ३ सय २२ जना पक्राउ परेका छन्  भने ७६ जना पुरुष र ६ जना महिला गरी ८४ जना फरार रहेका छन् । इप्रका तुलसीपुरको मातहतमा ४ वटा अन्य इलाका प्रहरी कार्यालय रहेका छन भने ५ वटा प्रहरी चौकी रहेका छन् । यस्तै ९ वटा अस्थायी प्रहरी चौकी रहेको उनको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार