विद्यालयको विकासमा सरोकारवालाको प्रतिवद्धता 

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र २ गते शुक्रवार


 दाङ :  घोराही उपमहानगरपालिका ९ तेघरामा रहेको नरदेवी माध्यामिक विद्यालयको बृहत्तर विकासका लागि सरोकारवालाहरूले प्रतिवद्धता व्यक्त गरेका छन् । विद्यालयले  शुक्रवार आयोजना गरेको “हामी बनाउँछौँ हाम्रो विद्यालय” विद्यालयको बृहत्तर विकासका लागि सरोकारवालाको भूमिका विचार गोष्ठीका सहभागीहरूले साढे ३ दशक इतिहास बोकेको विद्यालयले समयानुकूल फड्को मार्न नसकेको भन्दै सबैले सबै खालको सहयोग गरि विद्यालयको बृहत्तर विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । 

विद्यालयले विद्यालयको बृहत्तर विकासका लागि स्थानीय राजनैतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, पूर्व शिक्षिक , पूर्व विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, एवं विद्यालयप्रति चिन्ता र चासो राख्ने सम्पूर्ण सरोकारवालाहरूलाई आज भेला गरी कसरी विद्यालयको भौतिक एवं शैक्षिक विकास गर्न सकिन्छ भन्ने बारेमा छलफल चलाएको थियो ।

  सामुदायिक विद्यालयहरूमा दिनप्रतिदिन घट्दो रुपमा रहेको विद्यार्थी सङ्ख्यालाई वृद्धि गर्ने, कक्षा ५ सम्म सञ्चालनमा रहेको अंग्रेजी माध्यमको पठनपाठनलाई १० कक्षा सम्म पुर्याउने, विद्यालयमा विद्यार्थीको सुविधाका लागि स्कुल वस सञ्चालन गर्ने, शैक्षिक गुणस्तरमा ध्यान दिने र बालबालिकाको सिकाइ उपलव्धता वृद्धि गर्न शिक्षकले प्रमुख भूमिका निर्वाह गर्ने, आर्थिक श्रोतको सङ्कलनमा सबै सरोकारवालाहरूले सहयोग गर्ने, विद्यालयलाई राजनीतिक दवाव र प्रभावबाट मुक्त गराउने, विद्यालयमा अभिभावकको भूमिकालाई प्रभावकारी बनाउने लगायतका विषयमा सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।  विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाका बारेमा प्रधानाध्यापक कमल खड्काले विषय प्रवेश गराएको कार्यक्रममा सहभागीहरूले ५ घण्टा लामो छलफल गरेका थिए ।

सामुदायिक विद्यालयमा राज्यको ठुलो लगानी रहेको र लगानीका आधारमा प्रतिफल तुलनात्मक रुपमा निस्कन नसकेको भन्दै सहभागिताले सामुदायिक विद्यालयलाई आकर्षणको केन्द्र बनाउनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा शिक्षा प्रेमी पद्मप्रसाद शर्मा, पूर्णबहादुर बस्नेत, पदमप्रसाद अधिकारी, गिरिराज डाँगी, झोजराज वली, नेपाली कांग्रेसका गोपाल सुवेदी नेकपा एमालेका झग्गु गौतम, माओवादी केन्द्रका माघु चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका नोखिराम केसी, राप्रपाका डोमाकान्त अधिकारी, एकीकृत समाजवादीकी ससमोती चौधरी, पूर्व शिक्षक रुद्रबहादुर बस्नेत, अमर क्षितिज भण्डारी, पूर्व विद्यार्थी ऋषिराज पौडेल, नेब बहादुर डाँगी, नवराज गौतम, गोपाल जिसी, लगायतले आगामी शैक्षिकशत्र देखी विद्यालयको बृहत्तर हितका लागि निरन्तर खट्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।  विद्यालय व्यवस्थापन समितका अध्यक्ष चैतुकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक शमशेर नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार