मेट्रो कलेजले मर्मत सेन्टर खोल्दै

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र २ गते शुक्रवार


दाङ :  तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले इन्जिनियरिङका विद्यार्थीहरूलाई पढ्दै कमाउँदै कार्यक्रममा समावेश गर्नका लागि विभिन्न उपकरण मर्मत गर्ने सेन्टर खोल्ने भएको छ । कलेजका प्रमुख वसन्त आचार्यले विद्युत, फ्रिज, एसी, मोटर, टेलिभिजन, पंखा लगायतका उपकरण विद्यार्थीहरू बाटै मर्मत गर्ने गरी मर्मत सेन्टर सञ्चालन गर्न लागेको बताए ।

‘विद्यार्थीले सिकेको सीपलाई आयआर्जनसँग जोड्नका लागि हामीले यस्तो सेन्टर स्थापना गरेका हौँ’ कलेज प्रमुख आचार्यले बताए ।  तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले मर्मत सेन्टर खोल्नका लागि उपमहानगरपालिकाले सहयोग गर्ने समेत बताए ।  ‘हामीकहाँ ठूलो सङ्ख्यामा प्राविधिक कार्यक्रम अध्ययन गर्ने जनशक्ति रहेको छ । त्यसैलाई प्रयोग गरेर हामीले मर्मत सेन्टर खोल्न लागेका हौँ’ नगरप्रमुख खड्काले भने । यसबाट स्थानीय जनताहरू समेत लाभान्वित हुने नगरप्रमुख खड्काको भनाई छ । 


कलेजले मर्मत सेन्टर सञ्चालनका लागि विद्यार्थीहरूलाई तालिम समेत प्रदान गर्न लागेको पनि कलेज प्रमुख आचार्यले भने । ‘हामीले दक्ष प्राविधिकहरूबाट फ्रिज, एसी, पंखा, मोटर लगायतको मर्मत सम्बन्धी तालिम पनि सञ्चालन गरिरहेका छौ’ कलेज प्रमुख आचार्यले भने ।   तालिम पश्चात वर्कसप सञ्चालनका लागि विद्यार्थीहरूलाई सहभागी गराइने कार्यक्रम संयोजक अपिल आचार्यले जानकारी दिए । संयोजक आचार्यले विद्यार्थीहरूले न्यूनतम शुल्कमा मर्मत गर्ने समेत बताए । विद्यार्थीहरूको तालिम समापन सँगै मर्मत सेन्टर खोलिने छ ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को साझेदारीमा सञ्चालित कलेजले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार