किसानले उत्पादन गरेको बस्तुको बिक्रीमा राज्यले ग्यारेन्टी गर्नुपर्छ :  सांसद न्यौपाने

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र २ गते शुक्रवार


दाङ :  लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्ड विक्रम न्यौपानेले किसानहरूले अनुदान पाउन निकै झन्झटिलो अवस्था रहेको भन्दै त्यसैलाई सच्याउनु गर्नु पर्ने बताए । घोराही उपमहानगरपालिका १० नारायणपुरमा अर्गानिक मल र विषादी बनाउने तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका उनले किसानले अनुदान पाउँदासम्म झन्झटिलोको कारण बिच छाडेर जाने अवस्था रहेको बताए । उनले भने,‘ म कृषि ज्ञान केन्द्रमा अनुदानको बारेमा बुझ्न जाँदा त्यो प्रक्रिया यति झन्झटिलो रहेछ । ऐन, विधि, कार्यविधि यि कुराहरूलाई सच्याउनु पर्ने रहेछ । अब यो कुरालाई संसद्मा उठाउने र यसलाई सच्याउनु पर्छ ।’

उनका अनुसार एक पटक अनुदान पाएका किसानले जे अनुदान पाएको छ । फेरि दोस्रो पटक अनुदान त्यही पाउने हाम्रो कार्य विधि रहेका छ । किसानले आवश्यकता अनुसारको अनुदान पाउनु पर्छ, भन्ने हुँदा यो सच्याउन आवश्यक रहेको छ ।उनले बिहान उठेदेखि साँझ नसुत्दासम्म रासायनिक मल र विषादी प्रयोग गरेका बस्तुहरू खाने गर्दा मानिसको स्वास्थ्य बिग्रिदै गएको बताए । उनले भने,‘ खानपिनका कारण हामीलाई अनेक प्रकारका रोगहरू लागिरहेका छन् । एकातिर स्वास्थ्य बिग्रिदै गएको छ, भने अर्कोतर्फ आर्थिक नोक्सान पनि हुने गर्दछ । त्यसैले अब सबैले एक पटक सोच्ने बेला आएको छ । अब रासायनिक मल र विषादी प्रयोग गर्ने होइन् । अर्गानिक तिर लाग्नु पर्छ ।’

उनले अहिले समाज कुनै पनि कुराहरू छिट्टो चाहिने भन्दै त्यसै अनुसार उत्पादन हुन ६० दिन लाग्ने बस्तुलाई रासायनिक मल र विषादी प्रयोग गरेर ३० दिने उत्पादन गर्ने गरेको भन्दै यसले नै मानव स्वास्थ्य र वातावरण असर गरिरहेको समेत बताए ।उनले सामूहिक रुपमा अर्गानिक तरकारी खेती गर्दा यसले रोजगार दिने र मानिस र वातावरणलाई समेत फाइदा पुग्ने भएकाले अब यतातिर ध्यान दिनु पर्ने समेत बताए । उनले देशमा केही हुँदैन, भनेर युवाहरू विदेश जाने चलन बढिरहेको भन्दै उनले विदेशमा गएर पनि यही कृषि काम गर्नु पर्ने हुँदा स्वदेश मै काम गर्न सकेमा राम्रो हुने पनि बताए ।

यस्तै उनले अर्गानिक खेती गर्ने किसानहरूलाई सरकारले साथ सहयोग दिनु पर्ने समेत बताए । उनले भने,‘ किसानलाई खेती गर्नको लागि सहयोग गर्नु पर्छ । यदि खेती गरेपछि उत्पादन भएको वस्तुको राज्यले ग्यारेन्टी लिनुपर्छ । यस्तै समस्या हुँदा किसानहरूले खेती गर्न छाडेका हुन् । यस्ता कुराहरूलाई पनि सच्याउन जरुरी छ ।’ पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र र ओजरार कृषि सहकारी संस्था नारायणपुरको संयुक्त आयोजनामा किसानलाई तालिम दिइएको थियो । तालिममा मुक्त कम्लहरीको सहकारीका ४८ जना सदस्य सहभागी रहेका थिए । पछिल्लो समय आधुनिक खेतीमा अत्याधिक मात्रामा रासायनिक मलको प्रयोग हुने भएकाले माटोको उर्वराशक्ति कम हुँदै गएको र प्रत्यक्ष रुपमा मानव स्वास्थ्यमा परेको हुँदा जिल्लालाई अबको १० वर्ष भित्र अर्गानिक उपत्यका बनाउने उद्देश्यले जिल्लाका १० स्थानीय तहमा किसानलाई तालिम दिँदै आइरहेको केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले बताए ।


कीटनाशक औषधिको प्रयोगले मानव स्वास्थ्यसँगै वातावरणमा समेत असर पारेको बताउँदै किसानहरूलाई अर्गानिक खेती गर्नको लागि प्रेरित गर्न तालिमको आयोजना उनको भनाइ छ । आफूले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गरेर आफ्ना छिमेकीहरूलाई अर्गानिक खेती गर्न सिकाउन सहभागीहरूलाई आग्रह गरे । रासायनिक मलको प्रयोगले मानवको आयु घट्दै गएको बताउँदै अर्गानिक खेती गरेर मानव र पृथ्वीको आयु बढाउन सहभागीहरूलाई आग्रह समेत गरे । उनका अनुसार अहिलेसम्म तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका र घोराही उपमहानगरका किसानलाई तालिम दिइएको छ, भने अब अन्य पालिकामा दिने तयारी रहेको छ ।

कार्यक्रममा मुक्त कम्लहरी विकास मञ्चका केन्द्रिय उपाध्यक्ष निर्मला चौधरीले कार्यक्रमको महत्व रहेको बताइन । ओजरार कृषि सहकारी संस्थाका अध्यक्ष कमला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका व्यवस्थापक लिला चौधरीले गरेकी थिइन । प्रशिक्षकमा तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतम र कुलराज चौधरी  रहेका थिए ।  तालिममा घोराही उपमहानगरपालिका  ८, ९, १०, ११, १२  वडा गरि ४५ जना कृषकहरूको सहभागिता रहेको छ । तालिम फागुन २९, ३० र चैत्र १ गतेसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार