अहिलेको गठबन्धन देश र जनताको हितमा छ : उपाध्यक्ष ज्ञवाली

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र १ गते बिहिवार


दाङ :  नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अहिलेको गठबन्धन देश र जनताको हितमा भएको बताए । बिहीबार दाङको तुलसीपुरमा प्रेस चौतारी दाङको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले मुलुकलाई अनिर्णयको बन्दी बनाउने काँग्रेस सहितको अप्राकृतिक गठबन्धन ढल्नै पर्ने थियो, ढलेर उपयुक्त वातावरण भएको बताए । उनले पुँजीवादको वकालत गर्ने काँग्रेस र समाजवादको कुरा गर्ने कम्युनिष्ट बीचको मुद्दा नमिल्ने भएकाले अप्राकृतिक गठनबन्धनको आयु छोटो भएको समेत बताए ।

उनले कम्युनिष्टका नेता प्रधानमन्त्री भएपनि कांग्रेसaको नियन्त्रणमा तत्कालीन पाँच दलीय सरकार भएकाले त्यसबाट देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने अवस्थामा एउटै उद्देश्य, लक्ष्य बोकेका कम्युनिष्ट मिल्नु नै देशको हितमा भएको समेत दाबी गरे ।

यस्तै उनले पुरानै गठबन्धनको सरकारले निरन्तरता पाएको भए देश बर्बादीको दिशा तर्फ जान सक्ने खतरा देखिएपछि सरकार ढाल्ने कसरत थालेको र प्रधानमन्त्री प्रचण्डले पनि समयमै बुझेकाले सरकार परिवर्तन गर्न सम्भव भएको पनि उल्लेख गरे । उनले देश बदल्ने भाषण गर्न सजिलो भएपनि परिवर्तनका लागी पहिले आफू बदलिनु पर्ने पनि बताए । उनले दुनियाँ बदल्छु ठान्नेहरूले नै आफूलाई बदल्न नसक्दा समस्या भएको भन्दै आफूलाई नबदलेर दुनियाँ बदल्न नसकिने बताए । उनले वर्तमान गठबन्धनको सरकारलाई कसैले पनि ढाल्न नसक्ने ठोकुवा गर्दै यही सरकारले २०८४ सालको चुनाव गराउने र मतपरिणामको आधारमा एमालेले बहुमत ल्याएर एकलौटी सरकार निर्माण गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार