विषालु सर्प उद्धार तथा पुनर्स्थापनाका लागि तालिम

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र १ गते बिहिवार


दाङ :   डिभिजन वन कार्यालय घोराही दाङले सरोकारवाला निकायलाई   बिहीबार एक कार्यक्रम गरी विषालु सर्प उद्धार तथा पुनर्स्थापनाका लागि सीप तथा प्राविधिक सहयोग सम्बन्धी तालिम दिएको छ ।  तालिममा विषालु र अविषालु सर्पको पहिचान, विषालु सर्पको टोकाईबाट बच्ने उपाय र सर्प उद्धारका विषयमा जानकारी गराइएको थियो ।  कार्यक्रममा डिभिजन वन कार्यालय घोराही दाङका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठले जैविक विविधताको संरक्षण गर्ने उद्देश्य पुरा गरी सर्पलाई पनि प्रकृतिमा बाच्न पाउने अधिकारी सुनिश्चित गर्नका लागि कार्यालयले काम गरिरहेको बताए ।   

सबै सर्पको विषालु नहुने र सर्पको पहिचान नहुदाँ सर्प मार्ने कार्य रोक्नका लागि विगतका वर्षदेखि नै डिभिजन वन कार्यालयले सचेतनामूलक र संरक्षणमुखी कार्य गर्दै आइरहेको उनले बताए  । दिगो व्यवस्थापनको अभाव, सर्प देख्नासाथ मारिहाल्ने मानव प्रवृत्ति, सर्प पहिचानका ज्ञान र उद्धारको सीपको कमी, अनुसन्धान र प्रचारप्रसारको अभावमा सर्प संरक्षणमा चुनौति देखिएपछि त्यसको समाधान गर्न कार्यालयले बर्सेनी योजना नै बनाएर काम गरेका कारण सर्प संरक्षणको कार्य सफलता तर्फ उन्मुख भएको जानकारी दिए ।   

कार्यक्रममा प्रशिक्षक सर्प विज्ञ बसन्त सुवेदीले पछिल्लो ७ वर्षमा आफूले ५ हजार बढी सर्पको उद्धार गरेको र त्यस क्रममा दाङमा २६ प्रजातिका सर्प भेटिएकोमा ६ प्रजाति मात्रै विषालु सर्प पाइएको र बाकी २० प्रजाति अविषालु सर्प भेटिएको जानकार दिए । आफ्ना अध्ययनमा नेपालमा ८९ प्रजातिका सर्प पाइएको र त्यसमध्ये १७ प्रजाति मात्रै विषालु सर्प भेटिएको उनका भनाई छ । विश्वमा पाइने सर्प मध्ये १२ प्रतिशत मात्रै विषालु सर्प हुने र बाकी ८८ प्रतिशत सर्प अविषालु सर्प रहेको कार्यक्रममा जानकारी गराइएको थियो । 


अविषालु सर्पले टोके पनि मानिसको ज्यान नजाने तर विषालु सर्पले टोकेपछि समयमै सावधानी अपनाउन नसक्दा मानिसको ज्यान जाने गरेको भन्दै सुवेदीले त्यसका लागि सर्पले टोकिहालेँ पनि नआत्तिने, प्राथमिक उपचारका नाममा ढिलाई गर्न नहुने, धामी झाँक्री र झारफुक तर्फ नलागी समय अस्पताल पुर्‍याउने हो ? भने ज्यान जाने सङ्ख्यामा कमी ल्याउन सकिने बताए । कार्यक्रममा सर्प उद्धार सम्बन्धी सीप जीवित सर्प ल्याएर देखाएर गरिएको थियो । 

डिभिजन वन कार्यालय र त्यस मातहतमा रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, सामुदायिक वन समूहका उपभोक्ता लगायतकाको सहभागिता रहेको कार्यक्रममा सर्प बारेमा विस्तृत जानकारी, सर्प पहिचानका तरिका, उद्धारको सीप र तरिकाको बारेमा जानकारी गराइएको थियो । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार