हिलो र धुलोमा नमुना अटोभिलेज

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन ३० गते बुधवार

दाङ :  करिब १० करोडको लगानीमा  तुलसीपुर उपमहानगरपालिका  ६ र ९ वडामा पर्ने पातुखोलामा नमुना अटोभिलेज बनेको हो ।   २०७५ सालदेखि सञ्चालनमा आएको  अटोभिलेजमा बर्खामा हिलो र हिउँदमा धुलोले गर्दा व्यवसायीदेखि सेवाग्राहीले सास्ती पाएका छन्, भने पातुखोलाको किनारमा  रहेको अटोभिलेजलाई बर्खामा बाढीले बगाउला भन्ने डर समेत रहेको छ ।

  तुलसीपुर उपमहानगरपालिका ६ र ९ वडामा पर्ने  पातुखोला किनाराको अतिक्रमण भएको क्षेत्रलाई अटोभिलेज बनाइएको हो ।  अटोभिलेजमा करिब १५० व्यवसायी छन् भने सयौँले रोजगारी पाएका छन् । विगत एक वर्षदेखि व्यवसाय गर्दै आउनु भएकी ध्रुबा शर्माले बर्खामा हिलो र हिउँदमा धुलोले  गर्दा  निकै समस्या हुने बताइन् । हिजो आज धुलो आएर पसलमा बस्न नसकिने र बर्खामा हिलोको उत्तिकै समस्या हुने उनको भनाइ छ ।
उनले भनिन्,‘ मास्क नलगाएर पसलमा बस्न सकिँदैन । एक दिन मास्क नलगाए बिरामी भइन्छ । हामीले निकै समस्यामा परेका छौँ । हिउँदमा  धुलो र बर्खामा हिलोको उत्तिकै समस्या छ । यस समस्याको लागि स्थानीय सरकारसँग पटक पटक पहल भएको छ । तर, अहिलेसम्म कुनै सुनुवाइ भएको छैन ।’ उनका अनुसार पसल भएको भवन आफैले  बनाएको र उपमहानगरलाई जग्गा वापत मासिक रुपमा भाडा व्यवसायी बुझाउँदै आएका छन्  ।
यस्तै विगत ६ वर्षदेखि अटोभिलेजमा व्यवसाय गर्दै आएका अर्का व्यवसायी घनश्याम बस्नेतले पनि थुप्रै समस्याहरू भोग्दै आएको बताए । उनले समस्या नै समस्याले भरिएको अटोभिलेजमा पहिलो कुरा पातुखोलाको किनारमा हुँदा बर्खामा बाढी आए सबै बगाएर  लैजाला भन्ने डर रहेको बताए ।
उनले भने,‘ यहाँ करिब ढेड सय व्यवसायीहरू रहेका छौँ । तर, हामीलाई तिन तहको सरकारले कुनै पनि मतलब गरेको छैन् । अटोभिलेज खोलाको किनारमा हुँदा बर्खामा समयमा हामी कसरी बच्ने भन्ने चिन्ता  हुन्छ । अहिले हिउँदमा हिलो र धुलोको समस्या  उस्तै रहेको छ । यो समस्या हामीले यो सञ्चालन भएदेखि भोग्दै  आएका छौँ ।’ यस्तै उनले अटोभिलेज तुलसीपुर ९ र ६ मा पातुखोलाका दुई किनारमा हुँदा बर्खाको समय  पुल नहुँदा समस्या  हुने समेत बताए ।
यो समस्याको लागि अटोभिलेज समिति पटक पटक उपमहानगरपालिका र प्रदेश सरकारसँग गएको भएयता पनि अहिलेसम्म कुनै उपलब्धि नभएको उनको भनाइ छ । उनले  भने,‘ हामी अटोभिलेजमा काम गर्नेहरू डाक्टर नै हौँ । मानिसहरू बिरामी भएपछि उपचार गर्न अस्पताल जाने गरेझैँ गाडीहरू बिरामी भएपछिउपचारको लागि आउने ठाउँ अटोभिलेज हो । तर, हामी अटोभिलेजका   डाक्टरहरूलाई राज्यले ध्यान दिँदैन ।’
उनले शहरलाई सुन्दर बनाउनको लागि आफूहरू खोलाको  किनारमा  आएर बसेको भन्दै राज्यले आफ्नो दायित्व पुरा नगर्दा धेरै समस्या भोगेको बताए । उनले पनि उपमहानगरलाई मासिक  रुपमा जग्गाको भाडा बुझाउँदै आएको बताए ।  शहरलाई व्यवस्थित गर्नको लागि अटोभिलेजको महत्व हुने  भएयता पनि राज्यले यसलाई बुझ्न नसकेको अर्का व्यवसायी यम प्रसाद भुसालले बताए ।
तुलसीपुरमा रहेको अटोभिलेजको दुरा अवस्था रहेको उनको भनाइ छ । यसलाई राम्रो बनाउनको लागि आफूहरू लागि रहेको भन्दै त्यो व्यवसायीको बसमा नरहेको समेत उनले बताए ।  पातुखोलामा पुल नहुँदा बजार घुमेर आउनु पर्ने बाध्यता रहेको भन्दै उनले बर्खामा राती धेरै पानी परेमा धेरै चिन्ता हुने समेत बताए ।   यस्तै उनले राज्यले  अब   अटोभिलेजमा काम गर्ने   मजदुरको सीपको विकास र भौतिक निर्माणमा ध्यान नदिए व्यवसायीहरू पलायन भएर जाने अवस्था आइरहेको बताए ।
अहिले करिब १० जना व्यवसायीहरू पलायन भएको समेत उनको भनाइ छ । उनले भने,‘ हामीले हाम्रो तर्फबाट व्यवस्थित र प्रदुषणरहित अटोभिलेज बनाउन खोजेका छौँ । तर, हाम्रो लागतले मात्र त्यो सम्भव छैन् । सञ्चालनमा आएको यति धेरै वर्ष हुँदा पनि अझै राज्यको आँखा पुगेको छैन् ।   करिब १० बिगाहा क्षेत्रमा रहेको अटोभिलेजमा पूर्वाधार विकासको लागि तिन वटै सरकारलाई पटक पटक आग्रह गर्दै आएको तुलसीपुर अटोभिलेज अध्यक्ष पदम पोख्रेल बताए ।
अतिक्रम भएको जग्गालाई व्यवसायीहरूको लगानीमा अटोभिलेज निर्माण भएयता पनि राज्यले ध्यान नदिएको उनको भनाइ छ । उनले भने,‘ हामीलाई मुख्य समस्या भनेको खोलाको वारिपारि अटोभिलेजहरु रहेका छन् । बर्खाको समयमा निकै समस्या हुन्छ । यहाँ पुलको आवश्यक छ । यसका लागि स्थानीय सरकार, प्रदेश सरकार हुँदै संघसम्म पनि पुगेका छौँ  । तर, अहिलेसम्म आश्वासन मात्र पाएका छौँ ।’ यस्तै हिलो,  धुलोको कारण सबैलाई समस्या भइरहेको उनको भनाइ छ ।

यस्तै तुलसीपुर उपमहानगरका प्रवक्ता माधव वलीले  व्यवसायी र उपमहानगर बिच सम्झौता भएको हुँदा अटोभिलेजलाई पब्लिक प्राइभेट पार्टनरसिप मोडेलबाट अगाडि बढाउन खोजेको बताए । उनले अटोभिलेज सञ्चालन गर्दा व्यवसायीहरूसँग सहमति भएको भन्दै उनले स्थानीय सरकारले  मात्र  लगानी गर्न नसक्ने भन्दै  पब्लिक प्राइभेट पार्टनरसिप मोडेलबाट अगाडि बढ्ने बताए । उनले भने,‘ व्यापारीहरूको पनि लगानी हुनु पर्ने र उपमहानगरले पनि आवश्यक परेको खण्डमा सहयोग गर्ने भन्ने सहमति रहेको छ ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार