गुरुकुलका विद्यार्थीले बनाएको जिपको मोडेल डा. पुनद्धारा उद्घाटन

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन ३० गते बुधवार


दाङ :  गुरुकुल एकेडेमीका विद्यार्थीहरूले बनाएको जिपको मोडल वैज्ञानिक तथा डा. महावीर पुनले उद्घाटन गरेका थिए  । कृषि औजार कारखाना खोल्ने अभियानका साथ पुस्तक बिक्री गरी आर्थिक संकलन अभियानमा देश दौडाहामा रहेका उनले औपचारिक कार्यक्रमको आयोजना गरी गुरुकुल एकेडेमी घोराहीको प्राङ्गणमा उद्घाटन गरेका हुन् । 
गुरुकुल एकेडेमी घोराहीका अतिरिक्त क्रियाकलाप संयोजक तथा शिक्षक विशालमान श्रेष्ठको नेतृत्वमा तथा ५ जना विद्यार्थीहरू दिपेश वली, सफल भण्डारी, एलन बिके , आरोहण श्रेष्ठ र संयोल बस्नेतले उक्त जिप मोडेलको गाडी निर्माण गरेका हुन् ।

यो गाडी करिव १ लाख १० हजारको लागतमा निर्माण भएको संयोजक श्रेष्ठले जानकारी दिए। यसरी काम गर्दा एकातिर काम बन्ने र अर्कोतिर काम गर्दै जादा सिक्ने अवसर पाउने पनि उनले बताए । हिरो कम्पनीको १५० सिसिको मोटरसाइकलको इन्जिन प्रयोग गरी बनाइएको उक्त गाडीमा त्यतिकै खेर जाने सामानलाई पनि सदुपयोग गरिएको छ । गुरुकुल एकेडेमीको रेक्टा विधिको शिक्षण कृयाकलाप अन्तर्गत पनि पर्ने भएको हुनाले यो जिप मोडलको गाडी निर्माण गरिएको हो ।  

२०७६ सालमा प्रदेश स्तरीय ग्रान्ड विज्ञान फेस्टिभल नेपालगञ्जमा विद्युतीय चार पाङ्ग्रे गाडी बनाएर गुरुकुल एकेडेमी प्रथम भएको थियो तसर्थ अहिले विद्यार्थीहरूलाई इन्धन वाला गाडी बनाउन मोटिभेसनल स्वरुप यो गाडीको निर्माण गरिएको हो । आफूसँगै भएको बिभिन्न खेर जाने सामानबाट पनि यस्ता नमुना युक्त गाडीको निर्माण गर्न सकिने र प्रयोगात्मक सीप पनि सिकाइ हुने बताए ।

  गाडी निर्माण सम्पन्न गर्नको लागि विद्यालयका  शिक्षक  ई . सन्तोष कसौधन ,विज्ञान शिक्षक भवन आचार्य , कर्मचारी शंकर चौधरीले पनि सहयोग गरेका थिए  । साथै डा. पुनको अभियानमा साथ दिने उद्देश्यले गुरुकुल एकेडेमीले उनका ४० प्रति पुस्तक समेत खरीद गरेको छ । गुरुकुल तुलसीपुरले २० र घोराहीले २० प्रति पुस्तक खरीद गरेको ,  भने गुरुकुल एकेडेमी लमहीले पनि खरीद गर्ने कार्यक्रम रहेको विद्यालयका शिक्षक विवेक देवकोटाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार