काठमाडौं : गृहमन्त्री रवि लामिछानेले गैरकानूनी काम गर्नेहरूलाई कुनै आदेश नै नकुरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्। देशभरका राष्ट्रसेवक प्रहरीलाई सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले गैरकानूनी धन्दा चलाउने, गुण्डागर्दी र तस्करीलगायतका अपराध गर्नेलाई आदेश नै नकुरी कारबाही गर्न निर्देशन दिएका हुन्।
‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन’, उनले लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो।’ उनले प्रहरीले आफूलाई होइन आफूले सलाम गर्नपर्नेगरी काम गर्न पनि भनेका छन्। ‘तपाईँले मलाई होइन मैले तपाईँलाई सलाम गर्ने गरी काम गर्नुहोस्’, उनले भनेका छन्।