दाङ : तेस्रो हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता २०८० को उपाधि राइजिङ स्टार फुटबल घोराहीले जितेको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुरले आयोजनामा सञ्चालित प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा सहारा फुटबल क्लब लखनउलाई ट्राइबेकरमा ५ का विरुद्ध ६ गोलले पराजित गर्दै राइजिङ स्टारले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्यो । फाइनलमा सम्मानजनक हार ब्यहोरेको सहारा उपविजेतामा सीमित रहँदै नगद १ लाख, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदान तुलसीपुरमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको निर्धारित समयमा गोलरहित बराबर भएपछि खेलको नतिजा ट्राइबेकरबाट निकालिएको हो । हिरा डाँगी फाउण्डेसनका अध्यक्ष पोखरसिंह डाँगीको अध्यक्षता अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसी ( कुमार ) को प्रमुख आतिथ्यता एव शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको विशिष्ट आतिथ्यता भएको भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले खेल क्षेत्रको विकासमा राज्यको दृष्टि पुग्न नसकेको बताए ।
निजी संघ संस्थाले खेलकुद धानिदिएको छ, यसमा राज्यको दृष्टि पुग्न सकिरहेको छैन स्थानीय स्तरमा फुटबलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीहरूलाई थप प्रोत्साहन हुने तवर बाट फाउन्डेसनले गरेको प्रतियोगिताको उनले उच्च प्रशंसा गर्दै फाउन्डेसन लाई आगामी सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । साथै , उनले यस्ता प्रतियोगितालाई स्थानीय सरकार तथा सरोकारवालाहरूको सहयोग गर्नु पर्ने भन्दै यस्ता प्रतियोगिताले स्थानीय स्तरमा दक्ष खेलाडीहरू उत्पादन भई राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा व्यवसायिक खेलाडीहरूलाई थप टेवा पुग्ने समेत बताए ।
फाउन्डेसनका संरक्षक मान बहादुर डाँगीको स्वागत रहेको कार्यक्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत विधा तर्फ सहारा फुटबल क्लबका दिपेन सिह ठकुरी उत्कृष्ट खेलाडी, राइजिङ स्टारका जमिर मिया सर्वाधिक गोलकर्ता, राइजिङ स्टारकै भीम पुन वेस्ट गोलकिपर र टरिगाउँ युवा क्लबका निशान राजलवट राइजिङ प्लेयर घोषित भए । उत्कृष्ट खेलाडी लाई जनही पाच हजार नगद र ट्रफी प्रदान गरिएको थियो । त्यस्तै युएनबिसी फुटबल क्लब घोराही अनुशासित टिम भयो ।
त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजार सहित ट्रफी प्रदान गरिएको छ । साथै फाउन्डेसनले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगी खेलप्रेमी ,खेलाडी, सहयोगदाता, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, नागरिक समाज लगायत सबैमा धन्यवाद समेत दिएको छ । कार्यक्रमको सहजिकरण दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए । फागुन २१ गते देखि सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।