काठमाडौँ : सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभा अध्यक्षका लागि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य नारायण दाहालको उम्मेदवार बन्ने भएका छन्।आइतवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सत्ता गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवारका रुपमा दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग पार्टी सचिव चक्रपाणि खनालले पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको बताए। उनकाअनुसार बैठकमा झक्कु सुवेदी, उर्मिला अर्याललगायतको नामबारे पनि चर्चा भएको थियो। ‘राष्ट्रियसभाको अध्यक्षको सन्दर्भमा व्यापक छलफल भयो। पदाधिकारी बैठकबाट नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय भयो‚’ उनले भने, ‘झक्कु सुवेदी, उर्मिला अर्याललगायतका साथीहरुको नाम पनि चर्चामा थियो। केही साथीहरुको कुरा ६ वर्षलाई आधार बनाएर निर्णय गरौँ भन्ने थियो।’