दाङ : राइजिङ स्टार फुटबल घोराही सर्वाधिक पुरस्कार राशीको तेस्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० फाइनलमा प्रवेश गरेको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुरको आयोजनामा सञ्चालित प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफ लुम्बिनी प्रदेशलाई शून्य का विरुद्ध ४ गोलले पराजित गर्दै राइजिङ स्टारले फाइनल यात्रा तय गरेको हो ।
अरनिको मैदान तुलसीपुरमा भएको प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टारका अरुण चौधरी पहिलो हाफको २७ औँ मिनेटमा पहिलो र दोस्रो हाफको १६ औँ मिनेटमा दोस्रो गोले गरेका थिए । त्यस्तै दोस्रो हाफको इन्जुरी टाइममा जमिर मियाँले थप एक गोल गरेका थिए ।
खेलमा राइजिङ स्टारका खेलाडी अरुण चौधरी म्यान अफ म्याच घोषित भए । प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाइनलमा टरिगाउँ युवा क्लब तुलसीपुर र सहारा फुटबल क्लब लखनउ भिड्दैछन् । खेल आइतबार दिउँसो २ बजेदेखि सुरु हुने फाउन्डेसनका अध्यक्ष पोखर सिंह डाँगीले जानकारी दिए ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद एक लाख, कप ,मेडल, प्रमाणपत्र हात पार्ने प्रतियोगिताका संयोजक प्रीति बहादुर गिरि प्रेसले जानकारी दिए ।
त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ५ हजार ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजार सहित ट्रफी प्रदान गरिनेछ ।