एउटा कोठामा वडा कार्यालय

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन २५ गते शुक्रवार

दाङ :  स्थानीय तहमा जनप्रतिनिधिहरू आएको करिब ७ वर्ष पुग्न लाग्यो । तर, शान्तिनगर गाउँपालिकाका २ वटा वडाहरू अझै एक ÷ एक कोठाहरूबाट सेवा दिँदै आएका छन् । जनप्रतिनिधिहरू बस्ने, बैठक गर्नेदेखि सेवाग्राहीको काम त्यही एउटा कोठाबाट हुन्छ । एउटै कोठाबाट सेवा दिन र लिन  समस्या भइरहेको  छ । शान्तिनगर गाउँपालिकामा ७ वटा वडाहरू रहेका छन् । वडा नम्बर १, २, ५, ६ र ७ वडाको आफ्नै भवन रहेको छ, भने वडा नम्बर ३ र ४ वडा कार्यालय एकै ठाउँ एक /  एक कोठाबाट छन् । वडा कार्यालय एउटा कोठामा मात्र  हुँदा सेवा दिन समस्या हुने गरेको  वडा नम्बर ३ का वडा सचिव हेम प्रसाद भण्डारीले बताए ।

उनले भने,‘ तत्कालीन गाविस हुने बेला पनि यही कोठामा थियो । विगत ७ वर्षदेखि एउटै कोठामा बसेर सेवा दिइएको छ । सेवा दिँदा  ठाउँको कारण समस्या भइरहन्छ । ’ उनका अनुसार वडा कार्यालयमा मालपोत, पञ्जिकरण, योजना तथा मुद्दा मामिला  मिलाउने काम हुँदा एउटा  कोठामा रहेको कार्यालयबाट सेवा दिन समस्या हुन्छ । यस्तै उनले यस पटक वडा कार्यालयको भवनको  लागि ३५ लाख बजेट आएको र त्यो  भवन निर्माणको प्रक्रिया  अगाडि बढेको समेत बताए ।
अहिले  वडा नम्बर ३ रहेको वडा कार्यालय शान्तिनगर ४ मा पर्दछ । यस्तै वडाको एउटा मात्र कोठा हुँदा जनताहरूको गुनासो सुन्न चौतारी वा गाउँपालिकाको भवनमा जानु पर्ने बाध्यता रहेको वडा नम्बर ३ का वडाध्यक्ष मीन बहादुर केसीले बताए ।  एउटै कोठामा वडा कार्यालय हुँदा काम गर्न सहज नहुने उनको भनाइ छ ।
वडाको एउटै कोठा भएयता पनि नागरिकहरूलाई अनवरत रुपमा सेवा दिइरहेको भन्दै उनले वडा कार्यालयको भवन निर्माणको लागि समिति गठन भइसकेको पनि बताए । उनका अनुसार ७ सदस्य निर्माण समिति र ५ सदस्य अनुगमन समिति गठन भएको छ । उनले अब बन्न लागेको वडा कार्यालय भवन स्तनपान सहितको बन्ने समेत बताए । उनले भने,‘ हामीलाई ठुलो भवन भन्दा पनि नागरिकहरूलाई सहज रुपमा सेवा प्रदान गर्नु मुख्य उद्देश्य हो । ३५ लाखको बजेटमा राम्रो वडा कार्यालय भवन बनाउने हाम्रो योजना रहेको छ । ’एउटै कोठामा रहेको वडा कार्यालयबाट नागरिकहरूले राम्रो सेवा पाइरहेको भएयता पनि जनप्रतिनिधिसँग मात्र कुरा गरौँ  भन्दा बाहिर गएर गर्नु पर्ने अवस्था रहेको सेवाग्राही शान्तिनगर ३ का डण्डपाणी पाण्डेले बताए । अन्य वडाहरूका आफ्नै ठूला भवन रहेतापनि वडा नं. ३ र ४ को अहिलेसम्म एउटै कोठा हुँदा त्यहीबाट आफूहरू  सेवा लिने गरेको  उनले बताए । उनले भने,‘ हामीलाई कहिँलेकाहि वडाध्यक्षलाई भेट्नु पर्ने , छुट्टै कुरा गर्नु पर्ने हुन्छ । तर, वडा कार्यालय एउटै कोठामा हुँदा अन्य सेवाग्राहीहरूमा पनि आउने हुँदा बाहिर बोलाएर कुरा गर्नुपर्ने हुन्छ । अब हाम्रो वडाको भवन निर्माणको  लागि पैसा आएको छ । भवन निर्माण भएपछि सबैलाई राम्रो हुन्छ ।’

एउटै कोठामा वडा कार्यालय हुँदा  टेबुल, कुर्सी दराज, कम्युप्टर,  प्रिन्टर लगायतका फर्निचरले भरिभराउ छ  । कार्यालयमा एक पटक धेरै सेवाग्राही आउँदा काम गर्न समस्या हुने गरेको वडा नम्बर ४ की वडा सचिव गीता पन्थीले बताइन् । उनका अनुसार कुनै कुनै सेवाग्राहीले वडाध्यक्षलाई भेट्न खोजे पनि एउटै कोठा हुँदा समस्या हुन्छ । यस्तै एकै पटक धेरै सेवाग्राहीहरूमा सेवा लिन आउँदा बस्ने ठाउँको समस्या हुने र  आफूहरूलाई पनि काम गर्न समस्या हुने गरेको उनको भनाइ छ ।साँघुरो भए पनि एउटै कोठामा बसेर राम्रो सेवा दिइरहेको  वडा नम्बर ४ का वडाध्यक्ष गोमान बहादुर वलीले बताए । यस पटक वडा नम्बर ३ को वडा कार्यालय बन्न लागेको र अर्को वर्ष आफ्नो  वडा कार्यालय बन्ने उनको भनाइ छ । नाता प्रमाणित, चार किल्ला , जन्मदर्ता, नागरिकता सिफारिस लगायतका सेवाहरू एउटा कोठामा समिति  वडा कार्यालयले दिँदै आएका छन् । यस्तै उनले साँघुरो वडा भएका कारण सेवाग्राहीहरूसँग बाहिर चौतारीमा गएर कुराकानी गर्नु पर्ने बाध्यता रहेको बताए । एउटै कोठामा हुँदा वडाअध्यक्ष, वडा सदस्य, वडा सचिव सबै एकै ठाउँमा बस्नु पर्ने बाध्यता रहेको भन्दै उनले वडाको बैठक गर्दा  समस्या हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार