दाङ : घोराहीमा जारी १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० मा सोमवार १३ देशका कलाकारहरूको प्रस्तुति रहने भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा नेपाल सहित १३ देशका कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने आयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
महोत्सवको चौथो दिन फागुन २१ गते नेपाल सहित अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, इस्टोनिया , जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया लगायत देशका कलाकारहरूको प्रस्तुति रहने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक मूल समितिका संयोजक बसन्त जोशीले जानकारी दिए ।
महोत्सवमा नेपाली कला संस्कृति झल्कने लाखे नाच, झाँक्री नाच, बंगलाचुलीको भैलो, गढवाको अवधि नाच, कर्णाली प्रदेशको राउटेको कलासंस्कृति झल्कने बबईको प्रस्तुति रहने छ । यस्तै विभिन्न जातजातिको कला संस्कृति झल्कने प्रस्तुति पनि रहने छ । कार्यक्रम हुनुपूर्व घोराहीमा सम्पूर्ण देशका कलाकारसहित आफ्नो देशको कला संस्कृति झल्किने झाँकी सहित घोराहीमा सांस्कृतिक रयाली हुने छ ।
बिहान साढे ८ बजे घोराही बहूद्देश्यीय सभागृहमा जम्मा भएर बालमन्दिर, दामोदर चोक, बैंक रोड, निमाहल रोड, सडक विभाग, विपी चोक, सहिद गेट हुँदै भानु चोकमा पुगेर रयाली समापन हुने दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले जानकारी दिए । रयालीमा कलश सहित पञ्चकन्या, महिला पञ्चेबाजा, आयोजकको ब्यानर, अन्तराष्ट्रिय कलाकारहरू एवं विभिन्न संघसंस्था, जातजातिको झाँकी सहितको सहभागिता रहने छ ।
दाङको विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरूमा टेवा पुर्याउने , आर्थिक सङ्कटको बेलामा पनि आर्थिक चलायमान गराउने, दाङ सहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन भूमिका खेल्ने, विभिन्न देशहरूको कला संस्कृतिको जिल्लामै बसेर जिल्लावासीलाई अवलोकन गराउने लगायतका उद्देश्य राखेर आयोजना गरेको हो ।