दाङ : शान्ति महिला नमुना संसद्का पूर्व संसद्हरूको पुनर्गठन एवं परिचालन सम्बन्धी पहिलो भेला शनिवार तुलसीपुरमा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा नवजागरण महिला तथा बाल संरक्षण केन्द्र ( न्यूसीपीसी ) ले पूर्व नमुना सांसद, जनप्रतिनिधि, अधिकारकर्मी लगायतकाले सहभागितामा शान्ति नमुना महिला संसदै पुनर्गठनका लागि पहिलो भेला आयोजना गरेको हो । पुनर्गठित भेलाले नमुना शान्ति महिला सांसदको सभामुखमा सिमा न्यौपानेलाई चयन गरेको छ । नमुना सांसदको उपसभामुखमा सुष्मा गिरी, महासचिवमा दिप्तीशिखा चौधरी र सचिवमा शर्मिला तिवारी चयन भएका छन् । सांसदको प्रवक्तामा नानीमैया केसीलाई चयन गरिएको छ ।
सभामुख सहित ५८ जनाले सञ्चालन गर्ने संसद्मा सातवटा विभिन्न विषयगत समितिहरू रहेका छन् । सबै विषयगत समितिहरूमा दुई जना सदस्य रहने गरि समितिको संयोजक पनि चयन गरिएको छ । जसअनुसार कानून तथा सामाजिक न्याय समितिको संयोजक युवा करारा, शान्ति तथा मानव अधिकार संरक्षण समिति संयोजकमा मधुमति सुनार चयन भएका छन् । यस्तै आर्थिक समिति संयोजक कल्पना चौधरी, राजनैतिक समिति संयोजक सरिता देवकोटा, सांस्कृतिक समिति संयोजक छवि खराल, सूचना, सञ्चार, समन्वय र साझेदारी विकास समिति संयोजक लालमती भण्डारी, मानव संसाधन विकास र स्रोत व्यवस्थापन समिति संयोजकमा लोकमाया पुनलाई चयन गरिएको हो ।
यस्तै नमुना संसद्मा १७ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । समितिको सल्लाहकारहरूमा नवराज लामिछाने, कोमल वली, अनारकली मिया, स्यानी चौधरी, हुँमा डिसी, माया आचार्य रहनुभएको छ । यस्तै दुर्गालाल केसी, सावित्रा बिक, लक्ष्मी आचार्य, साजिदा सिद्दिकी, बसुन्धरा गौतम, नारायणी रजौरे, लिला शाह, माया श्रेष्ठ, देविका न्यौपाने, विष्णु कुमारी आचार्य र सुशीला पौडेल चयन भएका छन् ।
शान्ति महिला नमुना संसद्का पूर्व सभामुख सिमा न्यौपानेको अध्यक्षता, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यता एवं राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वलीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । नमुना संसद्का पूर्व सांसद तथा बबई गाउँपालिकाका निवर्तमान उपप्रमुख सबित्रा विश्वकर्माको स्वागत गीतबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव नानीमैया केसीले गरेकी थिइन् ।