दाङ : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ ले आफ्नो नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताए । शनिबार दिउँसो दाङको भालुबाङमा आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार पार्ने कुरामा जोड दिए ।
उनले भने,‘ मैले सरकारको नेतृत्व गरेदेखि नै समाजवादको आधार तयार पार्न सुशासन, समाजिक न्याय र समृद्धिमा जोड दिएको छु। प्रतिकूल परिस्थितिका बाबजुद पनि सरकारले समाजवादको आधार तयार पार्न प्रयास गरिरहेको छ। यसपटकको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारीमा केन्द्रित गरिनेछ। त्यसले देशमा नयाँ वातावरण बनाउनेछ।’
यसअघि उनले बागलुङको पञ्चकोटमा जारी महायज्ञ, लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट बैठक र लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गरेका थिए । अगुवा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका सचिव एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, स्थायी समिति सदस्य एवं सञ्चारमन्त्री रेखा शर्मा, स्थायी समिति सदस्य जोखबहादुर महरा लगायतका नेताहरू उपस्थित रहेको थियो ।