प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु : प्रधानमन्त्री 

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १९ गते शनिवार


दाङ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सम्बन्ध सेतु भएको बताए । 
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तीन तहको सङ्घीय प्रणालीमा प्रदेशहरूलाई बलियो तुल्याएर मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र समुन्नत बनाउन सकिनेमा आफू प्रष्ट रहेको बताए ।

 सङ्घीयताका नवीन र असल अभ्यासहरूको अनुकरण र अवलम्बन गर्दै नेपालले सङ्घीयता र लोकतन्त्रको अनुपम अभ्यास गरेर विश्वसामु देखाउनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भने , “नेपालको सङ्घीयता अभ्यास उदाहरणीय बनाउनुपर्छ, त्यसका लागि हामी सबैले अन्तरमनदेखि नै संकल्प गर्न जरूरी छ ।”

लुम्बिनी प्रदेशले विकास, समन्वय, सहकार्य लगायतका विषयमा गरेको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयता कार्यान्वयन र सेवा प्रवाहका दृष्टिले अझै परिश्रम गर्नुपर्नेमा जोड दिए । “आगामी दिनमा सङ्घीयता कार्यान्वयन, विकास र समृद्धि एवं सेवा प्रवाहका दृष्टिले उत्कृष्ट काम गरेर सङ्घीयता विरोधीहरूलाई व्यवहारले जवाफ दिनु छ,” प्रधानमन्त्री प्रचण्डले भने , “सङ्घीय लोकतान्त्रिक गणतन्त्रले अथाह सम्भावना दिएको छ, त्यसलाई अवसरमा बदलेर मात्रै व्यवस्था विरोधीहरूका षड्यन्त्र निस्तेज पार्नुछ,  व्यवस्था विरोधी जनमतलाई व्यवस्थाका पक्षमा ढाल्नु छ । यसका निम्ति सबैले साझा, समन्वयात्मक र सकारात्मक योगदान गरौँ ।”

 प्रधानमन्त्रीले संविधान निर्माणको आठ वर्ष पूरा हुँदासमेत सङ्घीयता कार्यान्वयनमा रूचि नदेखाउने, वित्तीय र प्रशासनिक अधिकारको हस्तान्तरण गर्न नचाहने प्रवृत्ति अहिले पनि विद्यमान रहेको उल्लेख गर्दै आफू त्यसलाई तोड्न लगातार लागिरहेको स्पष्ट पारे । प्रदेशलाई आर्थिक अधिकार दिनै नचाहने, कथमकदाचित दिइहालेमा पनि सशर्त अनुदानका नाममा केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसपटक त्यस्तो सोंच र परम्परा तोड्ने सङ्कल्प गरिएको र अब तीन करोडभन्दा साना योजनाहरू सिधै प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिने बताए ।

 सङ्घीय कानुनहरू निर्माणमा सरकार सक्रिय रूपमा लागिरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “सङ्घीय शिक्षा ऐनको मस्यौदा संसद्मा प्रस्तुत भइसकेको छ । सङ्घीय निजामती सेवा ऐन दर्ताको प्रक्रियामा छ । प्रहरी ऐन लगायतका अन्य ऐनहरू पनि छिट्टै संसद्‌मा प्रस्तुत हुँदैछन् ।”

विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलनको नेतृत्व, अग्रगमन र परिवर्तनका नामले समेत उत्तिकै परिचित रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले क्रान्ति र शान्तिको समिश्रणको सबैभन्दा राम्रो दृष्टान्त लुम्बिनी नै हो ,‘उनले भने ।  नेपाली राजनीतिक आन्दोलन, सामाजिक जीवन, ऐतिहासिकता  र सम्भावनाका दृष्टिले लुम्बिनी प्रदेश अग्रणी स्थानमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायतका राजनीतिक– सामाजिक परिवर्तनमा लुम्बिनी प्रदेश र प्रदेशवासीले महत्त्वपूर्ण योगदान रहेको स्मरण गरे । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार