दाङ : नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष सुवास न्यौपानेले निजी विद्यालयकै कारण सामुदायिक विद्यालयमा शैक्षिक सुधार आउन थालेको बताए । शुक्रबार रिपोटर्स क्लब दाङले तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा उनले निजी विद्यालय नभएको भए सामुदायिक विद्यालयको शिक्षा प्रतिष्पर्धामा नजाने निश्चित रहेको बताए । ‘यदि निजी विद्यालय हुँदैनथ्यो भने सरकारले लगानी गरेको समुदायक विद्यालयको शिक्षा सुधार हुन सक्दैनथ्यो, ’ उनले भने,‘ सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउनका लागि निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको छ ।’
उनले नेपालमा कतिपय सामुदायिक विद्यालयमा शिक्षकको संख्या धेरै भएको तर विद्यार्थीको संख्या ज्यादै न्यून भएकोले सरकारलाई चुनौति थपिएको बताए। उनले निजी विद्यालयको विकास भएपछि शिक्षा क्षेत्र अगाडि बढ्ने भन्दै निज विद्यालयमात्रै नभएर राम्रो भएर नहुने भन्दै सामुदायिक विद्यालय पनि त्यतिकै राम्रो हुनुपर्नेमा जोड दिए । सामुदायिक विद्यालयमा १२ सम्मको नि:शुल्क शिक्षा भने पनि विभिन्न बहानामा शुल्क लिएको पाइएको उनले बताए।
उनले ५२ वर्ष बनेको शिक्षा विधेयकले अहिलेसम्म काम चलाउँदा शैक्षिक विकास सोचे अनुरूप अघि बढ्न नसकेको भन्दै पुरानै शिक्षा प्रणाली हाबी हुँदा उल्लेख्य विकास र परिवर्तन हुन नसकेको बताए । निजी विद्यालयहरू बढ्दै गएपछि सरकारले कर तिर्नु पर्छ भनेर कम्पनीमा लगेको र अहिले फेरि निजी गुठी र सार्वजनिक गुठीमा लैजान खोज्दा आफूहरू आन्दोलित हुनुपरेको उनको भनाई छ । कम्पनीमा रहेपछि लगानी सुरक्षित हुन्छ भनेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुराएको उनले बताए निजी विद्यालयलाई विश्वास गर्ने वातावरण तयार गरेपनि राज्यले निजी विद्यालयप्रतिको दृष्टिकोण सकारात्मक बनाउन नसकेकोमा दुखेसो व्यक्त गरे ।