राप्ती प्रतिष्ठानमा आजदेखि टोकन प्रणाली सुरु

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १७ गते बिहिवार


दाङ :  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवालाई छिटोछरितोसहित भरपर्दो र व्यवस्थित बनाउने उद्देश्यले आजदेखि टोकन प्रणाली सुरु भएको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले रिबन काटेर टोकन प्रणालीको सुरुवात गरे  । उपकुलपति डा. लामिछानेले सेवालाई व्यवस्थित र छिटो छरितो बनाउन टोकन प्रणालीले सहयोग पुर्याउने बताए।

उनले अबदेखि बिरामीको पालो मिचिने गुनासो पनि अन्त्य हुने बताए। अस्पतालमा उपचारका लागि आउने बिरामीहरूले अबदेखि आफूले लिन चाहने सेवा ओपिडी , स्वास्थ्य बिमा र बिलिङ काउन्टरका लागि नाम दर्ता गरी टोकन लिई बस्नुपर्ने छ । प्रतिष्ठान स्थापना भएपछि पहिलोपटक टोकन प्रणाली लागू गरिएको अस्पतालका सूचना अधिकारी निशानदाजु भट्टराईले बताए ।

उनले अस्पतालको सेवा लिनका लागि सुरुमा टोकन लिई पालो कुर्न र कुनै कारणवश पालो कटेमा नयाँ टोकन लिएर नयाँ पालो कुर्नुपर्ने जानकारी दिए ।  टोकन प्रणाली उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कँडेलसहित विभिन्न विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारीहरू र लक्ष्मी बैँक घोराही र सिद्धार्थ बैँक घोराहीका बैँक म्यानेजर हरूको उपस्थिति रहेको थियो । टोकन प्रणाली जडित मेसिन घोराही स्थित सिद्धार्थ बैँकले सौजन्य गरेको छ, भने लक्ष्मी बैँक घोराहीले ६ वटा काउण्टरको लागि डिजिटल बोर्ड र एलाउन्सका सामग्री सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार