लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु परिक्षण गर्ने “ क्याथ ल्याब” सेवा सुरु

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १६ गते बुधवार


देउखुरी दाङ :    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मुटु परीक्षण गर्ने क्याथ ल्याब सेवा सुरु भएको छ । अस्पतालको ११४ औ वार्षिक उत्सवको अवसर पारेर प्रादेशिक अस्पतालले यो सेवा सुरु गरेको हो । मुटुको परिक्षण गर्ने क्याथ ल्याब सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गरेका थिए ।  प्रदेश मातहतका अस्पतालहरूमा क्याथ ल्याब सुरु गर्ने लुम्बिनी प्रादेशिक अस्पताल पहिलो भएको अस्पतालले जनाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालय राजु खनालले क्याथ ल्याब सञ्चालनको लागि चालु आर्थिक वर्षमा २२ करोड रुपैयाँ बिनियोजन गरेको जानकारी दिए ।

क्याथ ल्याब सेवा सुरु भएसँगै लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रले महत्वपूर्ण फड्को मारेको मन्त्री खनालको भनाई छ । “मुटु सम्बन्धी सानो समस्या हुँदा पनि अन्यत्र जानु पर्ने बाध्यता अब हटेको छ । अब प्रदेश भित्रै यसको उपचार हुन्छ,” उनले भने, “प्रादेशिक अस्पताललाई विशिष्टीकृत सेवा प्रदान गर्ने अस्पताल बनाउने कार्य अन्तर्गत यो सेवा सुरु गरिएको हो ।” उनले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशकै विशिष्टीकृत र राष्ट्रकै अब्बल अस्पताल बनाउनको लागि कुनै कसर बाँकी नराखी काम गरिने बताए । स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले स्वास्थ्य क्षेत्रमा एकीकृत विकास आवश्यक रहेको भन्दै आफूले मन्त्रालयबाट सेवा, सुविधा विस्तारको लागि पहल गर्दै आएको बताए ।

उनले अस्पतालमा मुटु रोग विशेषज्ञको दरबन्दी अनुसार चिकित्सक  अभाव हुन नदिने बताए ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले शल्यक्रिया बिना नै मुटुका सामान्य अवरोधहरू हेर्ने, खोल्ने र मुटुको भल्भहरू साँघुरो भए घटाउने काम क्याथ ल्याबबाटै हुने बताए ।  अब मुटु रोगको छिटो पहिचान गर्न सजिलो हुने र उपचारमा थप सहज हुने डा. थापाले बताए ।  दैनिक झण्डै ३ हजार बिरामीले ओपीडी सेवा लिने अस्पतालमा मुटुरोगीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याब सेवा जरुरी भएको अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ रोशन घिमिरेले बताए ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनको लागि चालु वर्ष २२ करोड रुपैयाँ बिनियोजन गरेको थियो । क्याथ ल्याबमा २ जना चिकित्सकसहित २ जना स्टाफ नर्स, १ एनेस्थेसिया र १ हेल्पर लगायत गरी ८ जनाको समूहबाट सेवा प्रदान हुने अस्पतालमा प्रशासन प्रमुख राजन केसीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार