खाजा खर्च बचाएर साथीलाई सहयोग

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १५ गते मङ्गलवार

दाङ :  सरस्वती इङ्गलिस बोर्डिङ स्कुल तुलसीपुरका विद्यार्थीले खाजा खर्च बचाएर साथीलाई सहयोग गरेका छन् । विद्यालयमा अध्ययन गर्दै आएका तुलसीपुर ५ का कमल घर्ती ( सुनिल )  को जीवन बचाउनका लागि विद्यालयका विद्यार्थी, शिक्षक शिक्षिकाहरू र कर्मचारीले खाजा खर्च बचाएर नगद १६ हजार २६५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।  सुनिल विगत २ वर्ष देखी कलेजाको रोगले ग्रसित भएर घरमै थलिएका छन् । कक्षा ७ मा पढ्दै गरेका १३ वर्षीय सुनिल खान र बोल्न समेत नसक्ने भएका छन् । कक्षा १० मा अध्ययनरत मुनलाइट कुसारीले साथीको मध्यमबाट युट्युब च्यानल रियल मिडिया नेपालमा सुनिलको भिडियो देखेपछि सहयोगको भावना जागेको बताइन । 

आफ्नो भाइ सरहको मान्छेलाई थलिएको थाहा पाएपछि साथी पवित्रा डाँगी, मुस्कान शेर्पा, गुरु आमा पुष्पा निरौलालाई आर्थिक सहयोग जुटाउने बारे सुनाएको र सबै मिलेर रकम संकलन गरेको कुसारीले बताइन् । कक्षा ७ सम्म पढेका विद्यार्थीको यस्तो अवस्था थाह पाएपछि आफूहरूले पनि विद्यार्थीले थालेको आर्थिक सहयोग संकलन अभियानमा सहभागि भएको विद्यालयका सहायक प्रधानाध्यापक पुष्पा निरौलाले बताइन । यो सहयोग पहिलो प्रयास भएको र पछि पनि आर्थिक संकलन गर्ने विद्यालयका शिक्षक मेघराज रोकाले बताए । 

विद्यार्थीले संकलन गरेको रकमलाई सुनिलको घरमै गएर रियल मिडिया नेपालका सञ्चालक एचआर मगर, सञ्चारकर्मी यज्ञबहादुर बूढा, विकास डाँगी, प्रकाश केसी लगायतको रोहबरमा सुनिलकी आमा गोमा घर्ती मगरलाई प्रदान गरिएको हो । सुनिलको घरमा सुनिलकी दिदी हिरा घर्ती पनि उस्तै बिरामी भएको बुवा वेदबहादुर घर्तिले बताए । सहिद स्मृति विद्यालय कक्षा ८ मा अध्ययनरत १९ बर्षिया हिरा घर्ती मगर पनि विगत ४ वर्ष देखि यही रोग वाट थलिएकी छन् । गरिब परिवार त्यसमा पनि दुई सन्तान दीर्घ रोगबाट पीडित भए पछि आफूहरू दिन रात आशुमा बित्ने गरेको आमा गोमा घर्ती मगरले बताइन ।

 जेठी छोरीको विवाह भै सकेको र बाकी दुई सन्तान बिरामी भएपछि घर्ती परिवारलाई आर्थिक समस्या भएको छ । दुई सन्तानलाई उपचार गर्न सक्ने आफ्नो आर्थिक अवस्था नभएपछि बुवा बेद बहादुरले आर्थिक सहयोगको याचना गरेका  छन ।उनले एभरेष्ट बैंक तुलसीपुरमा ०३३००५०१२१६४६८ नम्बरको खाता खोलिएको हुँदा सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार