दाङ : प्रतिपक्ष दलका सांसदहरुले वर्तमान सरकारले जनताको लागि भन्दा पनि आफ्नो कुर्सी बचाउने खेल गरेको भन्दै आक्रोश व्यक्ति गरेका थिए । उनीहरूले सत्तारुढ दलले कुनै पनि राम्रो काम नगरेको भन्दै सांसदहरुले आफ्नो क्षेत्रका समस्या बारेमा सभामुख मार्फत संसद्को ध्यानाकर्षण गरे । सोमबार बिहान दाङको तुलसीपुरमा रहेको हिमाल एकाडेमीको ‘नमुना संसद ’ २०८० को यो दृश्य थियो । सोमबार सत्तापक्ष र प्रतिपक्षबीच निकैबेर सवाल- जवाफ चल्यो । संसद्मा कर्णाली प्रदेश देखि लुम्बिनी प्रदेशका नागरिकहरूले पाएको सास्तीको विषयले प्राथमिकता पाएको थियो ।
प्रतिपक्ष दलका सांसदहरुले जनताहरूले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषिमा निकै समस्या भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए, भने सत्तापक्षबाट प्रधानमन्त्रीदेखि मन्त्री र सांसदले सरकारले राम्रो काम गर्दै आइरहेको भन्दै रक्षात्मक जवाफ पेस थिए । यो देख्दा संघीय संसद्को झल्को आउँथ्यो । पात्र उस्तै , विषय र भूमिका पनि उस्तै नै थियो । संसद्मा सांसदहरू कोही बोल्न नजान्ने, कोहीले उत्तेजक र आक्रामक भाषण गरेका थिए । विद्यार्थीहरूको यस्तो प्रस्तुत देख्दा संविधान सभा सदस्य अनारकली मियाँ पनि छक्क परेर हेर्ने गरेकी थिइन् ।
संसद्मा प्रतिपक्षका सांसदहरुले सरकारको कडा रुपमा आलोचना गर्दा किनै जोडदार रुपमा अन्य सांसदले टेबुल बजाउने गरेका हुन्थे । विद्यार्थीलाई संसद्को काम, कर्तव्य, अधिकार, संसद्मा प्रस्तुत हुने विधेयक र त्यसको विधि एवं प्रक्रियाबारे जानकारी गराउँदै नेपाल विद्यालय शिक्षा विधेयक २०८० समेत पारित गरिएको थियो । हिमाल एकाडेमी तुलसीपुर दाङमा कानुन सङ्कायमा विद्यार्थीहरूको आयोजना तथा नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा सञ्चालन भएको नमुना संसद् कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा कानुन, व्यवस्थापन र विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीहरू सहभागी भएका थिए ।
विद्यालयका प्रधानध्यापक मधुसुदन केसीको अध्यक्षता तथा संविधान सभा सदस्य अनारकली मियाको प्रमुख आतिथ्यता एवम् हिमाल एकाडेमी सञ्चालक समितिका सदस्य बलदेव शर्माको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । नमुना संसद् वास्तविक संसद् भन्दा केही फरक नभएको कार्यक्रमकी प्रमुख अतिथि संविधानसभा सदस्य मियाले बताइन् । उनले संसद् नमुना भए पनि पात्रहरूको चरित्र र प्रस्तुति वास्तविक सांसद, मन्त्री र प्रधानमन्त्रीकै जस्तै प्रस्तुत भएको हुँदा आफूलाई साँच्चिकैको संसद् जस्तो लागेको बताइन् ।
उनले भनिन्,‘ साँच्चिकै सभामुखका हुने गुन नमुना संसद्को सभामुखमा पाए । मन्त्रीहरू देखि प्रतिपक्ष दलको त्यस्तै खालको प्रस्तुती पाए । आज मलाई नै साँच्चीकैको संसद् भवनमा भएको आभाष भयो ।’ संसद् ३ घन्टाभन्दा बढी समय सञ्चालन भएको थियो । विद्यार्थीलाई नयाँ युवा नयाँ सोच अभियानले प्रशिक्षण दिएको नमुना संसद् कार्यक्रमले विद्यार्थीलाई संसदीय पद्धतिबारे ज्ञान प्रदान गर्ने, कानुन निर्माण प्रक्रियाको जानकारी गराउने तथा नेतृत्व विकासमा समेत टेवा पुर्याउने विद्यालयका प्रधानध्यापक केसीले बताए ।
यस्तै नमुना संसद्को अभ्यासले आफूहरूलाई निकै खुसी र ऊर्जा प्राप्त भएको विद्यार्थीहरूको भनाइ छ । संसद्को बारेमा टेलिभिजनबाट देख्ने गरेको भएयता पनि आज नमुना संसद्मा आफैँ सहभागी भएर अभ्यास गर्न पाउँदा धेरै कुरा सिक्ने पाएको उनीहरूको भनाइ छ ।