आधारभुत पत्रकारिता तालिम समापन

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १४ गते सोमवार

दाङ :   तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरिएको आधारभुत पत्रकारिता तालिमको समापन गरिएको छ । नेपाल पत्रकार महासंघ दाङको आयोजनामा भएको तालिममा समाचार लेखन, पत्रकारिताका सिद्धान्त, आचारसंहिता लगायतका विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको थियो ।   कार्यक्रममा बोल्दै महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले मिडियाका बारेमा सबैलाई जानकारी गराउन आवश्यक रहेको बताए । उनले आम मानिसमा मिडियाका बारेमा भ्रम रहेको बताउँदै महासङ्घले मिडियाका बारेमा बुझाउन मिडिया साक्षरता कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।

उनले सामाजिक सञ्जालको प्रयोगमा सावधानी अपनाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा भेटिने राम्रा र नराम्रा सामग्रीहरू छुट्याउन आवश्यक रहेको कुरामा जोड दिए ।  तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले कलेजले विद्यार्थीहरूको सृजनात्मक क्षमताको विकासका लागि तालिमको आयोजना गरेको बताए । ‘हामीले जानेको कुरा हामीसँग मात्रै सीमित गर्नु हुँदैन, अरुलाई पनि जानकारी दिनुपर्दछ । पत्रकारिताले एउटाको ज्ञानलाई धेरै जनासम्म पुर्याउनका लागि मद्दत गर्दछ । ’ कलेज प्रमुख आचार्यले भने । 

कार्यक्रमका नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष सन्तोष सुवेदी, विद्यार्थीहरू देविसरा ओली, दुर्बिन ओली, निराजन आचार्य र पारस ओलीले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण सचिव आरके सितलले गरेका थिए । तालिममा ३२ जनाको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा दुर्गालाल केसी, नारायण खड्का र सन्तोष सुवेदी रहेका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार