दाङ : अनशनरत स्वर्गद्वारी गुठी पीडित मोही किसानहरूको न्यायका लागि दाङका क्रियाशील राजनीतिक दलहरूले सामूहिक धारणा तय गरेका छन् । पीडित किसानहरूसँगको आइतबार सर्वदलीय तथा सर्वपक्षीय छलफलमा स्वर्गद्वारी गुठी पीडित मोही किसानहरुले छलफलमा राजनीतिक दलहरूका प्रतिनिधिहरूले साझा धारणा सहितको प्रतिवद्धता पेश गरेका छन् । फागुन ८ गतेदेखि मोहियानी हक अधिकारको माग राख्दै २४ घण्टे अनशनरत गुठी पीडित मोही किसानहरूको न्यायका लागि सबै राजनीतिक दलहरूले ऐक्यवद्धता सहितको सडकदेखि सदनसम्म दबाब दिने प्रतिबद्धता सहित संयुक्त विज्ञप्ति सार्वजानिक गर्ने तय गरेका छन् ।
बैठकमा नेपाली कांग्रेसका घोराही उपमहानगरपालिका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष राममणि पाण्डे, नेकपा माओवादी केन्द्रका घोराहीका कमिटीको उपाध्यक्ष अटल चौधरी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रविन थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा जनक सी , नागरिक उन्मुक्ति पार्टीका रामप्रसाद चौधरी, नेकपा समाजवादीका गुरुप्रसाद महरा लगायतकाले यस्तो प्रतिवद्धता सहितको आन्दोलनरत गुठी पीडित मोही किसानको न्यायका साझा धारणा पेश गरेका हुन् । यसै बीच अनशनरत स्वर्गद्वारी गुठी पीडित मोही किसानहरूको हक अधिकारका लागि समाजवादी मोर्चा घोराही स्तरीय नगर समितिले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । समाजवादी मोर्चाका संयोजक अटल चौधरी र सदस्य सचिव भक्तिराम डाँगी लगायतहरूको उपस्थितमा ज्ञापनपत्र बुझाएको हो ।