दाङ : एकातिर नयाँ पुस्ताले आफ्नो पेशा नसिक्दा हराउँदै गएको चिन्तामा रहेका कुमाल समुदायहरू भने अर्कोतर्फ सामाग्रीहरू बनाउन माटोको अभाव, बनाएका पकाउन दाउराको अभाव रहेको दुखेसो गर्छन् । पुस्तौँदेखि माटोका भाडा बनाएर पेशाको संरक्षण गर्दै जीवीका चलाउँदै आएका कुमाल समुदायलाई अहिले यही पीडा रहेको छ । तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनी स्थित कुमाल गाउँमा ६० भन्दा बढि घरधुरीमा कुमाल समुदायको बसोबास छ । गाउँमा बढिमा १० / १५ घरका त्यो पनि पाका उमेरकाले मात्र आफ्नो पेशा बचाउँदै आएका छन् ।
१४ वर्षको उमेरदेखि माटोका विभिन्न सामाग्री बनाउँदै आएका ६२ वर्षीय रूपसिंह कुमालले माटो र दाउराको समस्या रहेको बताए । उत्पादन गरेका सामाग्रीहरू बिक्री हुने गरेको भएयता पनि माटोको समस्याले गर्दा भनेजति बनाउन नसकिएको उनको भनाइ छ । उनले भने,‘ बेच्न लगेपछि सामाग्रीहरू बिक्री हुन्छ । बजारमा व्यापारीहरू सस्तोमा खोज्ने गर्दछन् । गाउँगाउँमा गएर समय अनुसारका सामाग्रीहरू बनाए बिक्री हुन्छ । तर, माटोको समस्या रहेको छ ।’ तुलसीपुर ७ को मटेराबाट माटो ल्याउने गरेको भएयता पनि त्यहाँ विवाद हुँदा समस्या भइरहेको बताए ।
उनले भने,‘ माटोका सामाग्रीहरू बनाउनको लागि जहाँ पायो, त्यहाँको माटो हुँदैन । हाम्रा पुर्खाहरूले ल्याउने ठाउँ भनेको मटेरा नै हो ? तर, अहिले स्थानीयहरूले विवाद गर्दा समस्या भएको छ ।’ यस्तै उनले अब गर्मी समय शुरु भएको र अब घैटाहरूको बढि माग हुने भएयता पनि उत्पादन गर्न समस्या हुने बताए । उनले बनाएका सामाग्रीहरू पकाउनको लागि पनि दाउराको समस्या हुने गरेको बताए । उनका अनुसार घर मै पराल हुने भएयता पनि दाउराको पनि अभाव हुने गरेको छ । यस्तै उनले पुर्ख्यौली पेशा आफ्ना छोराहरूलाई सिकाउन खोज्दा उनीहरूले चासो नदिएको बताए । जेठो छोरा भारत गएको र कान्छा छोराले अटो चलाउने गरेको उनले बताए । उनले भने,‘ यो सीप सिकाउनको लागि मैले धेरै प्रयास गरेको थिए । तर, छोराहरूले यता चासो दिएनन् । उनीहरूले अरु नै काम गरेका छन् । यो काममा दुख धेरै हुने र आम्दानी कम हुँदा युवा पुस्ताहरूले चासो दिएका छैनन् ।’
यस्तै ६७ बर्षीया गोविन्द कुमालले पनि करिब १३ वर्षको उमेरदेखि यो पेशामा लागेको बताए । पहिला माटोको भाँडाहरू गाउँ –गाउँ लगेर जाने र धानसँग साटेर ल्याएर आफ्नो घरको जीविका चलाउने गरेको भएयता पनि पछिल्लो समय ब्यापारीहरूले नै घर मै आएर पैसामा किन्ने गरेको उनको भनाइ छ ।आफ्नो बाउ, बाजेहरुले गर्दै आएको पुर्ख्यौली पेशालाई अहिलेसम्म आफूले निरन्तर दिँदै आएको भन्दै उनले सबै भन्दा ठूला माटोको समस्या रहेको बताए ।
उनले अहिले माटाका साना सामाग्रीहरू मात्र बनाउने गरेको बताए । उनले भने,‘ एकातिर बजारमा प्लास्टिकका भाँडाहरू छन्, अर्कोतर्फ माटो पर्याप्त मात्रामा पाइदैन् । अर्को काम गरौँ, भने जानेको छैन्, बाउ, बाजेहरूसँग सिकेको यही पेशा अहिले जसोतसो गरिरहेको छु ।’उनका अनुसार माटो निकाल्न पनि धेरै सङ्ख्यामा जानु पर्ने र त्यहाँ पनि विवाद हुँदा अब पेशा नै छाड्नु पर्ने अवस्था आएको छ । युवा पुस्ताकाले यो पेशामा तिर ध्यान नदिने र अर्कोतर्फ माटो, दाउरा जस्ता कुराको समस्या हुने अब गाउँबाट यो पेशा लोप हुने उनको भनाइ छ ।
आम्दानी कम, मेहेनत धेरै हुँदा यो पेशामा प्रति रुचि छैन् : युवा नवीन
उनका अनुसार घरमा बुबाले यो सीप जानेको भएयता पनि नगर्ने हुँदा पनि यो पेशा प्रति रुचि नगएको हो । घरमा बाजेले माटाका सामाग्रीहरू बनाउने गरेका पनि उहाँको निधनपछि कसैले नबनाउने गरेको उनले बताए । उनले भने,‘ बुबाले यो सीप जान्नु भएको छ । तर, उहाँले मिस्त्री काम गर्नुहुन्छ । त्यसैले मैले पनि यो पेशाप्रति चासो दिएन । अरु काम गर्दा दिनको एक हजार कमाइ हुन्छ, भने यो पेशाबाट एक हप्ता काम गरेपछि एक हजार कमाउन सकिन्छ, दुख धेरै गर्नुपर्छ । त्यो भएर म जस्ता युवा पुस्ताकाले यता चासो नदिएको हो ?’
माटोको अभावले गर्दा माग अनुसारको सामाग्री तयार गर्न समस्या रहेको प्रेम बहादुर कुमाल बताए । पुस्तौँदेखि तुलसीपुर ७ को मटेराबाट माटो ल्याउँदै आइरहेको भएयता पनि त्यस ठाउँमा विवाद हुँदा अहिले समस्या भएको छ, भने अर्कातर्फ युवा पुस्ताकालाई पनि यही यो पेशामा लाग्न यही बहाना भएको उनको भनाइ छ । एकातिर बजारमा प्लास्टिकका भाँडा आउनु अर्कोतर्फ पर्याप्त मात्रामा माटो नपाइने हुँदा सीप र परिश्रम अनुसार ज्याला नउठ्ने भएपछि कुमाल जातिको पेशासँगै सीप, कला पनि लोप हुँदै गएको भन्दै उनले पुर्ख्यौली पेशालाई संरक्षण गर्नको लागि राज्य आफूहरूको समस्यालाई सम्बोधन गर्नु पर्ने बताए ।