दाङ : नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरीय मिडिया महोत्सव आयोजना गर्ने भएको छ । महासंघ दाङ शाखाको बैठकले लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ यही मिति २०८० चैत तेस्रो साता लुम्बिनी प्रदेश स्तरीय मिडिया महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । महोत्सव सफल बनाउनका लागी नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश सरकार, स्थानीय तह, प्रेस काउन्सिल नेपाल, लगायत सम्बन्धित निकाय तथा सङ्घसंस्थाहरूसँग सहकार्य गर्ने निर्णय भएको महासंघ दाङ शाखाका सचिव आर.के.शीतलले जानकारी दिए ।
महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले तुलसीपुर उपमहानगरपालिका १२ मा रहेको मेट्रो कलेजले आफ्नो कलेजमा अध्ययनरत विद्यार्थीहरूले समाचार मूलक बुलेटिन प्रकाशन गर्दै आएकोमा विद्यार्थीहरूका लागी पत्रकारिता तालिम दिन अनुरोध भई आएकाले कलेजसँगको सहकार्यमा दुई दिने पत्रकारिता तालिम सञ्चालन गर्ने, नेपाल पत्रकार महासंघ दाङले सञ्चालन गरेको मिडिया साक्षरता अभियानलाई जिल्ला व्यापी रुपमा विस्तार गर्ने र दाङका सञ्चारमाध्यमका समस्यालाई अध्ययन अवलोकन गरि प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ ।