राप्ती बाल एकेडेमीलाई अन्तर विद्यालय हाजिरजवाफ प्रतियोगिताको उपाधि

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १२ गते शनिवार


दाङ :  राप्ती बाल एकेडेमीले अन्तर विद्यालय हाजिरजवाफ प्रतियोगिताको उपाधि हात पारेको छ । प्रतियोगितामा ९५ अङ्क सहित राप्ती वाल एकेडेमी तुलसीपुर ६ प्रथम भएको हो । प्रथम हुने राप्तीले नगद दश हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा शुक्रवार भएको अन्तर विद्यालय हाजिरजवाफ प्रतियोगितामा ७५ अङ्क सहित मेरिगोल्ड इंग्लिस बोर्डिङ स्कुल तुलसीपुरले द्वितीय स्थान प्राप्त गर्दै नगद पाच हजार र प्रमाणपत्र प्राप्त गरेको छ,  भने ७० अङ्क सहित गोरखा सेकेन्डरी स्कुलले तेस्रो स्थान हासिल गर्दै नगद तीन हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।   रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष पवन कुमार योगीको अध्यक्षता तथा रोटरी इनटरनेशनल डिस्ट्रिक्ट ३२९२ जोन ३३ का असिस्टेन्ट गभर्नर विमल रिजालको प्रमुख आतिथ्यमा  कार्यक्रम भएको हो ।

असिस्टेन्ट गभर्नर रिजालले विद्यार्थी जीवन किताबी ज्ञानमा मात्र सीमित भैरहेको पछिल्लो अवस्थाको चित्रण गर्दे वाह्य ज्ञानको पनि उत्तिकै  महत्व रहेको बताए । उनले २३ फेब्रुअरी १९०५ मा आज भन्दा ११९ वर्ष अघि रोटरी क्लबको स्थापना भएको यस्तो महत्त्वपूर्ण दिनमा हाजिरजवाफ प्रतियोगिता आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिए ।  कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा हाजिरजवाफ प्रतियोगिताका निर्णायक विजय केसीले बौद्धिकताको मापन प्रतियोगिताले मात्र सम्भव नहुने भन्दै विद्यालयहरूले पनि बालबालिकाको क्षमता अभिवृद्धि गर्ने यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने बताए । 

विगत लामो समयदेखि दाङ जिल्लाका विभिन्न क्षेत्रमा सामाजिक कार्यमा सक्रिय रहेका रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरले शिक्षा क्षेत्रमा केही नयाँ गरौँ र बालबालिकामा भएको ज्ञानलाई अगाडि बढाउ भन्ने उद्देश्यले हरेक वर्ष जस्तै यो वर्ष पनि कार्यक्रमको आयोजना गरेको हाजिरजवाफ प्रतियोगिताका कार्यक्रम संयोजक क्लबका प्रस्तावित अध्यक्ष सन्दीपन रिजालले जानकारी दिए ।  कार्यक्रममा रोटरी क्लब अफ तुलसीपुर सिटीका निवर्तमान अध्यक्ष यज्ञ बहादुर केसी, पूर्व अध्यक्ष वीर बहादुर रावत, राजेन्द्र प्रसाद श्रेष्ठ, देव बहादुर केसी, सुरेश हमाल, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष ईनुप भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

हाजिरजवाफ प्रतियोगिताको सञ्चालन क्लबका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले गरेका थिए, भने स्कोर क्लबका कोषाध्यक्ष दिपेश भण्डारी र टाइम किपरको भूमिकामा रोट्रयाक्ट क्लब अफ तुलसीपुरका पूर्व अध्यक्ष हेमराज बस्नेत रहेका थिए। । हाजिरजवाफ प्रतियोगिताको औपचारिक कार्यक्रमको सहजिकरण क्लबका सचिव रूपेश शर्माले गरेका थिए ।  हाजिरजवाफ प्रतियोगितामा तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी १३ वटा विद्यालयको उत्साहजनक रुपमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार