गुठी पीडित मोही किसानद्वारा प्रदर्शन

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन ९ गते बुधवार

दाङ :  दाङमा आन्दोलनरत गुठी पीडित मोही किसानहरूले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि रित्तो थाल ठटाएर प्रदर्शन गरेका छन् । पुस्तौँदेखि आफूहरूले जोत्दै आएको जग्गामा आफूहरूको मोही रहेको र आफूहरूले पाउनु पर्ने जग्गा सर्वोच्च अदालतले गुठीको जग्गा खण्डिकरण नगर्ने भनी गरेको फैसलाले आफूहरू भोकै मर्नु पर्ने अवस्था आएको भन्दै मोही किसानहरूले रित्तो थाल ठटाएर प्रदर्शन गरेका हुन् ।

 स्वर्गद्वारी आश्रम प्युठानको नाममा रहेको दर्ता स्रेस्ता जग्गा कायम भएको दाङमा रहेको ७ सय ५३ बिगाहा जग्गामा ३ हजार बढी किसानहरूको मोही रहेको छ । सर्वोच्च अदालतले २०६२ चैत्र १४ गते स्वर्गद्वारी निजी गुठी भएकाले आश्रमको जग्गा खण्डिकरण नगर्नु नगराउनु भन्ने उत्प्रेषक मिश्रित आदेश जारी गरेको थियो ।

मोहियानी हकका लागि विभिन्न चरणका आन्दोलन र सरकारसँग पटकपटक सम्झौता भएपनि त्यसको कार्यान्वयन नभएको भन्दै दाङका मोही किसानहरूले हिजोदेखि आन्दोलन सुरु गरेका हुन् । सरकारले स्वर्गद्वारी गुठीपीडित मोही किसानको माग सम्बोधन गर्न प्रयास नगरेको भन्दै चरणवद्ध रुपमा आन्दोलन गरिरहेको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए । किसानहरूले गुठीपीडित मोही किसानको समस्या समाधान गर्न सरकारले विधेयक ल्याउने भनी आश्वासन दिए पनि हिउँदे अधिवेशन शुरु हुँदा पनि कुनै तयारी नभएको भन्दै आन्दोलनमा जानुपरेको उनीहरूको भनाइ छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन ९ गतेदेखि ११ गतेसम्म जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय दाङमा २४ सै घण्टा धर्ना दिने, फागुन १३ गतेदेखि १५ गतेसम्म रयालीसहित राजनीतिक पार्टीका कार्यालयमा धर्ना बस्ने, फागुन २० देखि २२ गतेसम्म लुम्बिनी प्रदेशसभामा रयालीसहित धर्ना र पूर्वपश्चिम राजमार्ग दुई घण्टा सुतेर सडक बन्द गर्ने स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका सचिव भरतराज गिरीले जानकारी दिए। उनले जिल्ला प्रशासन कार्यालय अगाडि पाँच सय किसान धर्नामा रहेको बताउँदै दुई सिफ्टमा दुई सय ५० किसानका दरले २४ सै घण्टा धर्ना दिइने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार