आगलागी पीडितलाई होटल व्यवसायीको सहयोग

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन ६ गते आइतवार


दाङ :  तुलसीपुर होटल व्यवसायी समितिले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ  । तुलसीपुर–५ बसपार्कमा रहेको मध्यपश्चिम सल्यानी गेष्ट हाउसमा गत माघ २२ गते  भान्सामा ग्यास चुहावट भई आगलागी  हुँदा क्षति भएको हो । होटल सञ्चालक मुन कुमारी वलीलाई आइतबार  एक कार्यक्रमको आयोजना गरी आर्थिक सहयोग गरिएको हो । मुन कुमारीलाई ७ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको सचिव तुफान केसीले जानकारी दिए । 
होटल व्यवसायी समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर होटल व्यवसायी समितिका सल्लाहकार तथा होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सदस्य नेत्रलाल वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि वलीले ७ हजार ५५५ चेक आगलागी पीडित मुन कुमारीलाई हस्तान्तरण गरेका थिए । उनले २०५४ सालमा दर्ता भयको संस्थाले व्यवसायीहरूको समस्यालाई मध्यनजर गरी सहयोगको काम गरेकोमा धन्यवाद दिए । उनले व्यवसायीले बिमा अनिवार्य गर्नुपर्ने भन्दै यसका लागि समितिले पहलकदमी चाल्नुपर्ने बताए । समितिका अध्यक्ष बस्नेतले होटल व्यवसायीलाई समितिमा आवद्ध हुन आग्रह गरे ।

उनले समितिमा आवद्ध व्यवसायीले तुलसीपुरको ‘ग’ लाइनमा रहेको नागरिक केयर हस्पिटलमा उपचार खर्चमा ५ देखि २० प्रतिशतसम्म छुट पाउने गरेको बताए ।  सहयोग हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे टोल विकास संस्थाका अध्यक्ष तोभान केसी, सचिव प्रकाश वली र व्यवसायी दुर्गा भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए   । समितिका उपाध्यक्ष दोर्ण आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण  सचिव तुफान केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार