दाङ : स्वास्थ्य सेवा नै सबैभन्दा महान कार्य रहेको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले बताए । शनिबार शान्तिनगर – ६ धनौरी स्वास्थ्य चौकीमा सञ्चालन भएको नि :शुल्क स्वास्थ्य शिविरमा उनले यस्तो बताए । उनले जीवन स्वस्थ भएमात्र मानिसले सकारात्मक काम सिर्जना गर्ने भएकाले स्वास्थ्य सेवा सबैको पहुँचमा हुन आवश्यक रहेका बताए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका अध्यक्ष बस्नेतले शान्तिनगर गाउँपालिकाले स्वास्थ्य सेवालाई मध्यनगर गर्दै सहयोगी स्वास्थ्य संस्थासँग सहकार्य गर्दै काम गरिरहेको बताए ।
उनले भने,‘ भौतिक संरचना, बाटाघाटा, कुलानाला मात्र विकास होइन, सबै भन्दा ठूलो मानवीय स्वास्थ्य हो । मानिस स्वस्थ भएमात्र अन्य चिजको आवश्यक पर्छ ।’ यस्तै कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर सिटी हस्पिटलका अध्यक्ष विमल रिजालले स्वास्थ्य सबैले सहजै व्यवस्था हुनुपर्ने बताए । गाउँपालिका स्थानीय सरकार भएकाले स्वास्थ्य सेवाका लागि अगाडि बढ्नु पर्ने सुझाव दिए । औषधी थोक व्यवसायी संघका अध्यक्ष शेसकान्त ढकालको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा औषधी थोक व्यवसायी संघ लुम्बिनीका अध्यक्ष शालिकराम आचार्य, समाजसेवी तथा शिविर सञ्चालनका कार्यक्रम संयोजक विजय केसी, शान्तिनगर ६ का वडा अध्यक्ष शेर बहादुर भण्डारी लगायतले बोलेका थिए ।
कार्यक्रम सहजिकरण तुफानबाबु श्रेष्ठले गरेका थिए । व्यवसायिक अधिकारको सुरक्षासँगै व्यवस्थित व्यवसाय भन्ने मूल नाराका साथ स्थापना भएको नेपाल औषधि थोक व्यवसायी संघले आफ्नो आठौँ स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व वहन गर्दै पश्चिम दाङको धनौरी स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा प्राविधिक सहयोग तुलसीपुर सिटी हस्पिटल प्रालिको रहेको छ भने स्थानीय व्यवस्थापन शान्तिनगर गाउँपालिकाको ५, ६ र ७ को रहेको थियो ।
शिविरमा वरिष्ठ फिजिसियन, हाडजोर्नी विशेषज्ञ र स्त्रीरोग विशेषज्ञ लगायतका चिकित्सकबाट बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा ८ सय जनाले स्वास्थ्य लाभ लिएका छन् । स्वास्थ्य शिविरमा ६ सय जनाले स्वास्थ्य लाभ लिने लक्ष्य राखिएकोमा ८ सय जनाले स्वास्थ्य लाभ लिएको शिविर संयोजक केसीले जानकारी दिए । शिविरमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ हेमराज शर्मा, शल्य चिकित्सक रवि आचार्य, स्त्रीरोग शेखर शर्मा, बरिष्ठ जनरल सर्जन सुमन केसी, डा. नुरज श्रेष्ठ, डा. जनक गुरुङ लगायत चिकित्सक तथा नर्सहरूको टिमले बिरामीको स्वास्थ्य परिक्षण गरेका थियो, भने निःशुल्क औषधी पनि वितरण गरिएको थियो। साथै शिविरलाई प्रभावकारी बनाउन र व्यवस्थित गर्न नेपाल औषधी तथा बिक्री प्रतिनिधिसँग दाङ इकाई, आरसीसी भिलेज काशिपुर तथा शान्तिनगर थारू समाज लगायतका संस्थाहरूको सहयोग रहेको थियो ।