माल्टामा भुवन केसी, नेपाली चलचित्रको प्रवर्द्धनमा सघाउन आग्रह

Author Logo..
अनलाइन राप्ती २०८० असोज १६ गते मङ्गलवार

काठमाडौ :  युरोप भ्रमणमा रहेका अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी यतिबेला माल्टा पुगेका छन् । स्विट्जरल्याण्ड हुँदै माल्टा पुगेका उनले त्यहाँस्थित ब्लु हर्स इन्टरटेनमेन्टको उद्घाटन समेत गरे । एमसिदा जिराको ब्ल्याक पर्ल रेष्टुरामा आयोजित समारोहमा अध्यक्ष केसीले माल्टाबासी नेपालीहरू माझ नेपाली चलचित्र र कला संस्कृतिको प्रवर्द्धनमा सघाउन समेत आग्रह गरे ।

नेपालीपनको आभास दिलाउन सक्ने कार्यक्रम आयोजना गर्न सके बोर्डबाट हुनसक्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको उनले बताए । लोकगायिका सुनिता दुलाल समेत सहभागी कार्यक्रममा उनको सांगीतिक प्रस्तुतिले माहौल तताएको थियो । उनले आफ्ना चर्चित गीतहरू सुनाएर मनोरञ्जन प्रदान गरिन । नायिका जिया केसीसँगै त्यहाँ पुगेका अभिनेता केसीले समेत कार्यक्रममा गीत गाए ।

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृति, एवं भेषभुषाको प्रवर्द्धन सँगै व्यवसायिक ढंगले विभिन्न मनोरञ्जनात्मक गतिविधि आयोजना गर्ने उद्देश्यले उक्त संस्था खोलिएको यसका परिकल्पनाकार तथा संरक्षक जिके शर्माले बताए । यसका निम्ति नेपालस्थित राइज मिडिया नेटवर्कसँग सहकार्यका निम्ति समझदारी भएको समेत उनले जानकारी गराए । राइज मिडिया अडियो भिडियो निर्माण तथा इभेन्ट म्यानेजमेन्ट सँगै सञ्चार क्षेत्रमा आबद्ध संस्था हो ।

माल्टा लगायत युरोपमा रहेका नेपालीहरूलाई एकताबद्ध गरी  नेपालको  मौलिकतालाई युरोपमा प्रवर्द्धन गर्न ब्लु हर्स इन्टरटेनमेन्ट निरन्तर सक्रिय रहने समेत शर्माको भनाई थियो । यस संस्थाको संरक्षक उदयबाबु श्रेष्ठ रहेका छन । 

गैर आवासीय नेपाली संघ राष्ट्रिय  समन्वय परिषद्  माल्टाका अध्यक्ष रेमलाल खनाल     ( रेम्स ) तथा संस्थापक अध्यक्ष तेज बहादुर लिम्बू द्वयले नेपाली कला संस्कृतिको प्रवर्द्धनका लागि नयाँ खुलेको संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । एआरएन माल्टाका सल्लाहकार हरि बिसीले समग्र टिमलाई शुभकामना व्यक्त गर्दै ब्लु हर्ष इन्टरटेनमेन्टले  युरोपमा रहेका नयाँ प्रतिभाहरूलाई आफ्ना प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण अवसर प्रदान गर्न सक्ने विचार राखे ।

माल्टाबासी नेपाली, विभिन्न संघ संस्था प्रतिनिधि एवं व्यवसायीहरूको उपस्थिति रहेको कार्यक्रम ब्लु हर्स इन्टरटेनमेन्ट संयोजक डम्बर राणाको संयोजकत्वमा भएको थियो । कार्यक्रमको सञ्चालन असिम लोप्चनले गरेका थिए । माल्टा पछिल्लो समय नेपालीहरूका लागि रोजगारीको आकर्षक गन्तव्य बनेको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार