लागूपदार्थ दुर्व्यसन अन्त्य गर्न अभिभावकसम्म पुग्दै नयाँ पाइला 

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र १४ गते मङ्गलवार

दाङ :   समाजमा बढ्दै गएको लागूपदार्थ दुव्यर्सन अन्त्यका लागि नयाँ पाइला पुनर्स्थापना केन्द्र अभिभावकसम्म पुग्ने अभियान चलाएको छ । संस्था स्थापना भएदेखि नै दुव्यर्सन मुक्त समाज निर्माण गर्नका लागि समाजका विभिन्न संघ संस्थाहरूको समन्वय सहकार्यमा अभिभावकसम्म पुग्ने गरेको छ । हालसम्म साविक राप्ती अञ्चलका पाँच वटै जिल्लामा अभिभावक शिक्षा सम्पन्न गरेको संस्थाका निर्देशक सुरेश भुसालले जानकारी दिए । संस्थाले हालसम्म अभिभावक शिक्षाका लागि एक सय बढी विद्यालयमा एक लाख बढी पर्चा पम्पलेट वितरण गरेको छ, भने सचेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ ।

संस्थामा हालसम्म एक हजार बढीको उपचार पछि समाजमा पुनर्स्थापना गराइएको छ । संस्थाले लागूपदार्थ दुव्यर्सनमा परेकाहरूलाई उपचारका साथै सीप समेत प्रदान गरेको छ । यसैबीच नयाँ पाइला पुर्न स्थापना केन्द्रको सहयोग एवम् समाज कल्याण केन्द्रको आयोजनामा लागूपदार्थ दुव्यर्सन सम्बन्धी अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले लागूऔषध दुर्व्यसनीको अवस्था विकराल रहेकाले यसको अन्त्यका लागि अभिभावक शिक्षा अनिवार्य रहेको बताए । लागूपदार्थ सेवन कर्ताले समाजमा समस्या बढाएको उनको भनाइ छ । प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बिर बहादुर ओलीले स्थानीय तहले वडा टोलसम्म नै पुगेर सचेतनाका कार्यक्रम गर्नुपर्ने बताए । प्रहरी एक्लैले कुनै पनि काम गर्न गाह्रो हुने भन्दै सबैको साथ आवश्यक रहेको बताए ।

कार्यक्रममा घोराही कारागारका प्रमुख लक्ष्मण सिङ राठौरले लागूऔषधले समाजमा अपराधसँगै चोरीका घटना बढेको बताए । ३ वर्ष अघिको तथ्यांक हेर्दा नेपालभर १ लाख ३० हजार ४ सय २४ बढी मानिस लागूऔषधको कुलतमा फसेको बताए । अहिले घोराही कारागारमा मात्रै ९० जना कैदी बन्दी लागूऔषध मुद्दाको रहेको बताए । राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा भिमसेन गिरी, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि लगायतले समाजमा हुने कुनै पनि विकृतिलाई न्यूनीकरण गर्न अभिभावक, विद्यालय सचेत हुनुपर्ने बताए ।

यस्तै मनोपरामर्श दाता शैलेश शर्माले नेपालको सन्दर्भमा लागूऔषध सेवन गर्नेमा १२ वर्षदेखि २० वर्षको उमेर समुहका रहेको बताए । सुरुवाती दिनमा लागूऔषध कस्तो हुन्छ भनी चाख्ने बानीले बिस्तारै दुर्व्यसनी फसेको बताए उनका अनुसार नेपालमा सबैभन्दा धेरै लागू औषधको रुपमा गाँजा प्रयोग हुने गरेको छ । लागू औषध दुर्व्यसनीले समाजमा महिला हिंसा फैलाएको उनको भनाइ छ । सम्बन्ध बिच्छेदका घटना बढेको पनि बताए । लागूपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्नका लागि घर परिवार, समाज र सिङ्गो राज्य लाग्नुपर्ने बताए । नार्कोनन नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त पुनले प्रशिक्षण दिँदै कुनै पनि खाएर लाग्ने पदार्थ लागू पदार्थ भएका बताए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार