दाङ : तुलसीपुर उपमहानगरपालिका ९ नगर स्वास्थ्य केन्द्र दोघरेको भवन निर्माण सम्पन्न भएयता पनि प्रयोग विहीन भएको छ । वडा कार्यालयसँगै सटेको जग्गामा ३ कोठे भवन निर्माण भएको लामो समय भएयता पनि स्वास्थ्य केन्द्रले भने भाडाको घरबाट सेवा प्रदान गर्दै आइरहेको छ । नयाँ बनेको भवन टाइप ‘वि’ अर्थात् जनसङ्ख्याको आधारमा बनेको हुँदा र अहिले वडा कार्यालयमा जनसंख्या धेरै भएकाले त्यो भवन प्राप्त नहुने भएकाले भाडाको घरबाट सेवा दिन बाध्य भएको नगर स्वास्थ्य केन्द्रले जनाएको छ । पहिला वडामा जनसंख्या करिब ६ हजार थिए,‘ केन्द्रका प्रमुख ईश्वरी चालिसेले भने,‘ अहिलेको जनगणना अनुसार वडाका १४ हजार जनसंख्या पुगेको छ । हामीलाई कम्तिमा ६ वटा कोठाहरू आवश्यक पर्छ । निर्माण भएको भवनमा ३ वटा कोठाहरू रहेका छन् । ६ वटा कोठाहरू नहुँदासम्म हामी त्यहाँ जाँदैनौँ । सेवा प्रवाहमा हामीलाई समस्या हुन्छ ।’
यस्तै थप कोठाको लागि वडा कार्यालयमा पहल गरेको भन्दै भवनमाथि टिनको ट्रर्स निर्माण गरिदिए पनि आफूहरू नयाँ भवनमा जान तयार रहेको बताए । उनले भने,‘ अहिले कर सहित करिब १५ हजार मासिक रुपमा भाडा तिरेर ६ वटा कोठाबाट हामीले नागरिकहरूको सेवा गर्दै आएका छौँ । अब त्यो ३ वटा कोठामा कसरी काम गर्न सकिन्छ । जतिसक्यो चाँडो थप कोठाहरूको व्यवस्था हुन्छ । हामी आफ्नो भवनमा जान तयार छौँ । अहिले स्वास्थ्य केन्द्रमा सुत्केरी सेवा बाहेक सबै सेवाहरू दिँदै आइरहेको केन्द्रका अहेव प्रवीर केसीले बताए ।
उनका अनुसार अहिले दैनिक ३० जना बिरामीहरू सेवा लिनको लागि स्वास्थ्य केन्द्रमा आउने गरेका छन् । यस्तै पछिल्लो समय सेवा लिन आउने बिरामीहरू संख्या बढ्दै गएको भन्दै उनले नयाँ भवनमा गएर सेवा दिनको लागि ठाउँ अभाव हुने पनि बताए । यस्तै स्वास्थ्य केन्द्रमा ल्याब सेवा नभएको पनि उनको भनाइ छ । उनले भने,‘ सुत्केरी र ल्याब सेवा मात्र हामी कहाँ छैन् । अहिले ल्याबको लागि नजिकै रहेको आयुर्वेद अस्पतालमा पठाउने गरेका छौँ । यदि यि दुवै सेवाहरू यहाँ भएमा सेवा लिन आउनेको संख्या बढ्न सक्छ । ’ यस्तै पछिल्लो समय रुघाखोकी, डाइरिया लगायतका बिरामीहरू धेरै आउने गरेको पनि उनको भनाइ छ ।
थप कोठाको लागि उपमहानगरलाई पटक पटक भन्दै आएको छु : वडाध्यक्ष ढकाल
तुलसीपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष घनश्याम ढकालले निर्माण सम्पन्न भएको भवन प्रयाप्त नहुँदा अहिले पनि नगर स्वास्थ्य केन्द्र मासिक १५ हजार तिरेर भाडाको घरमा बस्दै आएको बताए । उनले यसमा थप कोठाहरू निर्माण गर्नको लागि पटक पटक उपमहानगरलाई जानकारी गराउँदै आएको भएयता पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताए । उनले भने,‘ मेयरलाई यहाँ ल्याएर भवन पनि देखाएको छु । मेयरले माथि ट्रर्स बनाउने कुरा गर्नुभयो । तर, पैसाको व्यवस्थापन नहुँदा अहिलेसम्म केही भएको छैन् । आज उपमहानगर आफ्नो भवन हुँदा पनि अर्काको घरमा भाडा वार्षिक एक लाख भन्दा बढि पैसा तिरेर बस्न बाध्य बनाएको छ । ’
अहिले स्वास्थ्य केन्द्र रहेको भाडाको भवनबाट सेवा दिन कुनै पनि समस्या नभएको भन्दै उनले आफ्नो भवन हुँदा पनि अर्काको घर भाडामा ल्याएर बस्दा उपमहानगरको पैसा दुरुपयोग भएको भन्दै यसको अन्त्य हुनु पर्ने पनि बताए । यस्तै उनले आफ्नै वडा कार्यालयसँग सटेको ठाउँमा स्वास्थ्यको भवन बन्दा समेत आफूहरूले केही गर्न नपाएको गुनासो गरे । उनले भने,‘ यो कति लाखमा बनेको हो । कस्तो बनेको छ, भन्ने कुरा वडा कार्यालयलाई केही अधिकार हुँदो रहेनछ । वडाले अनुगमन गर्न पनि नपाउने, सिफारिस गर्न पनि नपाउने अवस्था रहेछ ।’ यस्तै उनले कम्तिमा पनि संघीय तथा प्रदेश सरकारले कुन वडामा बजेट दिन्छ । त्यही वडामा बजेट आएपछि सम्बन्धित वडा कार्यालयसँग समन्वय गर्नु पर्ने समेत बताए । यसरी कुनै पनि केन्द्रबाट आएको काम आफूहरूले केही गर्न नपाउँदा वडा सरकारको औचित्य के हो ? भन्ने बारेमा पनि प्रश्न गरे ।
मन्त्रालयलको डिजाइन अनुसार भवन निर्माण भएको हो : इन्जिनियर योगी
यस्तै उपमहानगरका इन्जिनियर पवन कुमार योगीका अनुसार भवन निर्माण कार्य सम्पन्न भएर निर्माण पनिले हस्तान्तरण गरिसकेको बताए । उनका अनुसार २०७७ सालमा नगर स्वास्थ्य केन्द्र दोघरेको भवन निर्माणको लागि ३८ लाख आएको थियो । गत वर्षदेखि निर्माण कार्य शुरु भएकोमा यस चालु आर्थिक वर्षसम्म काम सम्पन्न भइ भवन निर्माण कम्पनीले भवन हस्तान्तरण गरिसकेको उनको भनाइ छ । उनका अनुसार भवन निर्माणको जिम्मा राणा ब्रदर्श निर्माण कम्पनीले पाएको र ३८ लाखको टेन्डर भएकोमा भ्याट बाहेक २१ लाखमा निर्माण गरेको थियो । उनले भने,‘ मन्त्रालयलबाट जस्तो डिजाइन आएको थियो । त्यही अनुसार नै हामीले निर्माण गरेका हौँ । त्यो भवन एक कठ्ठा जग्गामा निर्माण भएको छ । अरु कोठाहरू बढाउने जग्गा पनि छैन् । ’
तुलसीपुर नगर स्वास्थ्य केन्द्र पनि भाडाको घरमा
तुलसीपुर उपमहानगरपालिका ५ अन्तर्गत तुलसीपुर बसपार्कमा नजिकै रहेको तुलसीपुर नगर स्वास्थ्य केन्द्रले पनि भाडाको घरबाट सेवा दिँदै आइरहेको छ । केन्द्रका प्रमुख खुम न्यौपानेका अनुसार स्वास्थ्य केन्द्रको भवन नहुँदा भाडाको घरबाट सेवा प्रदान भइरहेको छ । उनले भने,‘ हाम्रो आफ्नो भवन छैन् । भवन बनाउनको लागि आफ्नो जग्गा चाहिन्छ । ४ वटा कोठाहरू मासिक साढे १० हजार तिरेर भाडामा रहेका छन् । ’ मासिक रुपमा करिब ८ सय जना बिरामीहरूलाई सेवा दिँदै आइरहेको भन्दै आफ्नो भवन नहुँदा धेरै समस्या हुने गरेको उनको भनाइ छ ।
खोप सेवा, गर्भवती जाँच सेवा दैनिक ओपिडी सेवा लगायत सेवाहरू स्वास्थ्य केन्द्रबाट प्रदान भइरहेको पनि उनले बताए । यस्तै उनले वडा नं. ५ मा धेरै जनसंख्या रहेको भन्दा आफूहरूलाई ६ कोठामा भवन आवश्यक पर्ने समेत बताए । उनले उपमहानगरको आफ्नो दर्ता जग्गा बसपार्कमा रहेको भन्दै जग्गा प्राप्त भएमा स्वास्थ्य मन्त्रालयले पैसा दिने पनि बताए । उनले भने,‘ हामीलाई उपमहानगरले जग्गा दिए मात्र पुग्छ । भवन निर्माणको लागि स्वास्थ्य मन्त्रालयले ६३ लाख बढि रकम दिन्छ । ’
मन्त्रालयको मापदण्ड उपयुक्त छैन्
विगतमा स्वास्थ्य मन्त्रलायले जारी गरेको मापदण्ड अनुसार ७ हजार भन्दा कम जनसंख्या भएको वडामा ३८ लाखसम्मको भवन बन्ने स्वास्थ्य मन्त्रालयको हुँदा त्यही अनुसार नगर स्वास्थ्य केन्द्र दोघरेमा सोही अनुसार भवन निर्माण भएको तुलसीपुर उपमहानगरपालिकाको जन स्वास्थ्य प्रवर्द्धन शाखाको भनाइ छ । शाखा प्रमुख ओम प्रसाद न्यौपानेले तराईका जिल्लाहरूमा स्वास्थ्य मन्त्रालयले जनसङ्ख्याका आधारमा बनाएको मापदण्ड उपयुक्त नभएको पनि बताए ।
उनले भने,‘ ७ हजारभन्दा कम जनसंख्या भएको वडामा ३ कोठाको ३८ लाख बराबरको भवन बन्छ । ७ हजार भन्दा माथि जनसंख्या भएको वडामा ६३ लाख बराबरको ६ कोठाको प्रसुती सेवा दिने भवन बन्छ । स्वास्थ्य मन्त्रालयको मापदण्ड त्यही नै छ ।’
यस्तै उनले तत्कालीन समयमा वडा नं. ९ मा रहेको जनसङ्ख्याको आधारमा बनेको नगर स्वास्थ्यको भवन उपयुक्त भएयता पनि अहिले जनसंख्या बढेका कारण सानो भएको हुन सक्ने पनि बताए । संघीय सरकारबाट हस्तान्तरण भएर आएका ८ वटा स्वास्थ्य चौकी र उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४ / ७५ मा सबै वडाहरूमा स्वास्थ्य सेवा पु–याउने उद्देश्यले ११ वटा नगर स्वास्थ्य केन्द्र स्थापना गरेको उनले बताए । यस्तै २ वटा स्वास्थ्य इकाई पनि सञ्चालनमा रहेको उनको भनाइ छ । उनका अनुसार वडा नं. ५ मा रहेको स्वास्थ्य केन्द्र बाहेक धेरै वडाहरूका स्वास्थ्य केन्द्रहरूमा आफ्नै भवन रहेका छन् । यस्तै आफ्नै भवनहरू भएयता पनि वडा नं. ४, १५ बाहेक सबै स्वास्थ्य संस्थाहरू राष्ट्रिय मापदण्ड अनुसार नभएको पनि उनको भनाइ छ ।
उपमहानगरका शाखा पनि भाडाको घरमा
जन स्वास्थ्य प्रवर्द्धन शाखा रहेको कार्यालय पनि भाडाको घरमा रहेको छ । उनले भने,‘ यो घर शिक्षा शाखा र स्वास्थ्य शाखाको लागि भाडामा उपमहानगरले ल्याएको हो । अहिले उपमहानगरले आफ्नो प्रशासनिक भवन तयार गरिरहेको छ । हाल उपमहानगरको कार्यालय रहेको भवन गाउँ पञ्चायत हुने बेलाको हो । नगरपालिका बनेपछि त्यसैबाट सेवा दियो । पछि उपमहानगर भएपछि पनि त्यसैबाट सेवा दिँदै आएको छ । सबै शाखाहरू एक भवनमा नअट्ने भएपछि केही भाडाका घरबाट सेवा दिँदै आएका छन् । ’ स्वास्थ्य शाखा रहेको भवनमा मासिक भाडा करिब २८ ÷ २९ हजार रहेको र यहाँ ८ वटा कोठाहरू रहेको र त्यो पनि आफूहरूलाई पर्याप्त नभएको उनको तर्क छ ।