दाङ : तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा पुल नजिकै रामनगर टोलमा बस्ने भरत पुरीको ५ कित्तामा गरी करिब ४ कठ्ठा जग्गा लाल पुर्जामा छ । तर, अहिले उनले करिब २ कठ्ठा जति भोग चलन गर्दै आएका छन्, बाँकी २ कठ्ठा जति जग्गा पातुखोलामा परिणत भएको छ । उनले भने,‘ खोलाको पूर्वतिर अहिले जुन बस्तीहरू रहेका छन् । त्यो बसपार्क संरक्षण गर्नको लागि तत्कालीन नगरपालिकाले पातुखोलामा तारजाली लगाएको थियो । अहिले त्यहाँ १५ / २० मिटर लामा घरहरू बनेका छन् । सिँचाइ कुलो पछाडि फालेको अवस्था रहेको छ । हाम्रो जग्गा खोलाले अहिले खोला हिँडिरहेको छ । ’
अहिले पनि वडा नंं ५ मा पर्ने खोलाको भागमा विभिन्न बहानामा माटो राखेर अतिक्रमण हुँदा खोला वडा नंं ९ तर्फ आउने गरेको र जसले गर्दा आफूहरूको जग्गा कटान हुने मात्र नभइ बस्ती नै जोखिममा रहेको उनको भनाइ छ । यस्तै उनले राजश्व नतिरेको जग्गाहरू निःशुल्क रुपमा प्रयोग बगरिहेको भन्दै आफूहरूले राज्यलाई राजश्व दिँदा पनि जग्गा बगरमा परिणत गरेर उठिबास बनाउन लागेको आरोप लगाए । तत्कालीन नगरपालिका हुँदा पातुखोलालाई ८० मिटर राख्ने सहमति भएको भएयता पनि अहिले खोला कुलोमा परिणत हुँदा जोखिम एकदमै बढेको पनि उनको भनाइ छ । उनले भने,‘ त्यही सहमतिको आधारमा ८० मिटर खोलालाई राखेर आफ्ना जग्गाहरू संरक्षण केही तटबन्धन गरेका थियौँ । तर, हाम्रो जग्गा अहिले बगरमा परिणत भएको छ । हामीलाई लालपुर्जामा भएको जग्गा चाहिएको हो । हामीले राज्यलाई कर तिर्दै आएका छौँ । तर, जग्गा खोलामा छ । मेरो ५७ मिटर रहेको जग्गा अहिले २८ मिटर मात्र प्रयोग गर्दै आएको छु ।’
यस्तै उनले पातुखोला पुलमा आफ्नो जग्गा पर्ने भन्दै त्यो पुल बनाउँदा पुलमा मिचिएको जग्गाको मुआब्जा दिने भएयता पनि अहिलेसम्म त्यो पनि नपाएको बताए ।उनका अनुसार पूर्वतर्फ संरक्षण गर्दै जादा पश्चिमतर्फ खोला ढल्काउँदाआफूहरू जोखिममा रहेको पनि बताए । यस्तै उनले पातुखोलाको पुल पनि जोखिममा रहेको उल्लेख गरे । उनले भने,‘ अहिले मेरा ग्यारेजको जगमा खोला बगिरहेको छ । पश्चिमतर्फ खोला ढल्काउँदा पुलको एउटै प्यानबाट खोला बग्दा जालीहरु पनि बगाएको छ । जसले गर्दा पनि पुल जोखिममा परेको छ ।’ यस्तै सोही ठाउँका गोपाल पुरीको पनि लालपुर्जामा १५ धुर जग्गा रहेको छ । तर, अहिले उनको जग्गा ७ धुर जति मात्र रहेको र बाँकी बगरमा परिणत भएको बताए । उनले पनि राज्यलाई कर चाहिँ १५ धुरको तिर्दै आएको बताउँछन् । अहिले उक्त जग्गाको मूल्य करिब ६ लाख रुपैयाँ मिटर रहेको पनि बताए ।
उनले भने,‘ हामी धेरै अन्यायमा परेका छौँ । लालपुर्जामा १५ धुर जग्गा रहेको छ । तर, अहिले ७ धुर जति मात्र रहेको छ । खोला अहिले कुलो जत्रो भएको छ । हाम्रो जग्गामा खोला हिँडिरहेको छ । हामीलाई हाम्रो जग्गाको व्यवस्थापन हुनु पर्छ, भन्ने माग हो ।’ यस्तै सोही ठाउँका खड्ग शाहीको पनि अवस्था उस्तै रहेको छ । उनको पनि १० धुर जग्गा मध्य खोलाले बगर बनाउँदा ३ धुर जति बाँकी रहेको छ । उनले पनि राजश्व १० धुरको तिर्दै आएको बताउँछन् । उनले भने,‘ हामीले यो जग्गा धेरै पहिला किनेका थियौँ । त्यतिबेला खोला पूर्वतिर थियो । अहिले खोला हाम्रो जग्गामा परेको छ । ’
तुलसीपुर ९ र ५ मा पर्ने पातुखोलामा पूर्वतर्फबाट वडा नं. ५ पर्ने पुलदेखि उत्तरतर्फ ठाउँमा फोहोर फाल्ने बहानामा खोलामा च्याप्दै आएको हुँदा बचेको जग्गा पनि बगरमा परिणत हुन लागेको उनको भनाइ छ । यस्तै उनले उपमहानगरलाई खोलाको सिमाना छुट्टाउन समेत आग्रह गरे । उनले भने,‘ हाम्रो जग्गा अहिले बिच खोलामा पर्ने गर्दछ । पूर्वतिर पक्कीघरहरू बनेका छन् । खोला साँघुरो हुँदै गएको छ । पूर्वबाट अहिले च्याप्दै आएकाले खोला पश्चिमतर्फ आएको छ । त्यसैले खोलाको सिमाना छुट्टाउन आवश्यक ।’
यस्तै स्थानीय यान्द्र बहादुर वलीका अनुसार पातुखोला अतिक्रमणले गर्दा अहिले कुलाको रुपमा परिणत भएको छ । उनले भने,‘ मैले थाहा पाउने बेला पातुखोला अहिले बसपार्क भएको ठाउँबाट बग्ने गरेको थियो । तर, पछि सबै ठाउँ अतिक्रमण भएर बस्तीहरू बसेका छन् । जसले गर्दा अहिले खोला कुला जस्तै रहेको छ । यस्तै अवस्था रहेमा यहाँ मेलम्ची नहोला भन्ने सकिन्न ।’ यस्तै उनले उपमहानगरले खोलाको मापदण्ड अनुसार छुट्टाउनु पर्ने पनि बताए । खोला अतिक्रम भएर बस्ती बसेको हुँदा धेरै जोखिम रहेको भन्दै त्यसतर्फ ध्यान दिन समेत आग्रह गरे । उनले भने,‘ पहिला हाम्रा गाउँ ठाउँमा २०÷ २५ मिटरका कुलहरू हुन्थे । अहिले पातुखोलाको अवस्था त्यस्तै रहेको छ । बेलुवा केही स्थानीयहरूको दर्ता जग्गा अहिले खोलामा परिणत भएको छ । यसतर्फ पनि उपमहानगरले ध्यान दिन जरुरी छ । ’
पटक पटक आग्रह गर्दा पहल भएन : टोल अध्यक्ष भुसाल
तुलसीपुर ९ रामनगर टोलका अध्यक्ष वामदेव भुसालले यहाँको समस्याका बारेमा तत्कालीन मेयर घनश्याम पाण्डे लगायत वडा कार्यालयहरूमा पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको बताए । यस्तै उनले आफ्ना टोलका केही नागरिकहरूको जग्गा अहिले बिच खोलामा पर्ने गरेको पनि बताए । उनले भने,‘ खोला अतिक्रमण गर्दा मेरा टोलका केही नागरिकहरूको जग्गा खोलामा पर्छ । एक जना ब्यक्तिको ३ कठ्ठा जग्गा लालपुर्जामा छ । तर, उहाँको ५ धुर पनि जग्गा छैन् । सबै खोलामा पर्छ । यहाँका पीडित टोलवासीहरू पटक पटक म कहाँ पहल गरिदिनु पर्यो , भनेर भन्न आउनु हुन्छ । तर, हाम्रो भनाइको सुनुवाइ हुँदैन ।’
यस्तै तत्कालीन मेयर पाण्डेले दर्ता जग्गा छुट्टाएर खोलाको भाग ८० मिटर छुट्टाउने आश्वासन पाएको भएयता पनि त्यो अहिलेसम्म नभएको उनको भनाइ छ । यस्तै उनले पछिल्लो समय वडा नं. ५ मा पर्ने पुलदेखि पूर्वतर्फ विभिन्न बहानामा बिच खोलामा मैदान जस्तो बनाउँदा खोला पश्चिमतर्फ आउने भएकाले बचेको पनि जग्गा बगरमा परिणत हुने सम्भावना रहेको पनि बताए ।
हामी अध्ययन गर्छौ : नगरप्रमुख खड्का
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले वडा नं. ९ का नागरिकहरूले भने जस्तै दर्ता जग्गा खोलाले खाएको हो ? वा होइन भन्ने बारेमा अध्ययन गर्ने बताए । उनले दर्ता जग्गा उपलब्ध बनाउने कुरामा नगर सरकारको भएको पनि बताए । उनले भने,‘ तारबार, तटबन्ध जे गरेर भएपनि खोलामा ८० मिटर माग छुट्टाएर बाँकी अतिक्रमण भएको ठाउँलाई उकास दिनु नगरको कर्तव्य हो । ’ उनका अनुसार सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासको सन्दर्भमा छुट्टाउँदा दर्ता भएर अतिक्रमण भएका जग्गा पनि छुटिन्छन् । बाँकी खोलाहरूको संरक्षण गर्ने र त्यसपछि मात्र वास्तविक सुकुम्बासी र भूमिहीनहरूलाई नाप नक्सा गरेर जग्गा उपलब्ध गराउने हो ।’
यस्तै पातुखोला अतिक्रमणले गर्दा विपद्को धेरै जोखिम रहेको भन्दै त्यसलाई तटबन्धन गर्नको लागि प्रदेश सरकारमा बजेटको लागि पहल गरेको पनि उनको भनाइ छ । खोला अतिक्रमण गरेर बसेका बस्तीहरू जोखिम रहेको भन्दै उनले कानुनी रुपमा दर्ता गर्न नमिल्ने पनि बताए । खोला, जङ्गल , बाटो सरकारका सार्वजनिक सम्पत्तीहरू रहेको भन्दै यसलाई संरक्षण गर्न समुदायले साथ दिनु पर्ने समेत बताए ।
उनले भने,‘ पातुखोलाको बस्ती एकदमै जोखिममा रहेको छ । हामीले डोजर लगाएर हटाउ भने पनि उपमहानगरले सुकुम्बासीहरूलाई डोजर लगाएर हटायो, भनेर जनता हाम्रो विरुद्धमा सडकमा आउँलान् । कुनै पनि आयोगहरू आएपनि खोलामा जग्गा दर्ता हुँदैन । ’ मानिसहरुले जबरजस्ती अतिक्रमण गरेर घरहरू बनाएर खोला साँघुरो भइरहेको भन्दै उनले जसको जग्गा दर्ता छ । उनीहरु खोलाका कारण जोखिममा परेको र खोला बेचेर खानेहरुले धेरैलाई भविष्यमा पिडा दिने काम गरेको पनि उनको भनाइ छ ।