दाङमा चालु आर्थिक वर्षको पुससम्म करिब ६ सय जनामा क्षयरोग पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र १० गते शुक्रवार


दाङ :  जिल्लामा यस आर्थिक वर्षको पुस महिनासम्म करिब ६ जना क्षयरोगका संक्रमित भेटिएका छन् । समुदायमा चेतनाको कमी र बिरामीहरूको लापरवाहीका कारण क्षयरोगीहरू बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । जिल्ला पछिल्लो समय सङ्क्रमितको संख्या घट्नुका साटो नयाँ संक्रमित थपिने क्रम नरोकिएपछि क्षयरोग निवारणको विषय थप जटिल बन्न थालेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार गत आर्थिक वर्षमा मात्र जिल्लामा १ हजार ४५३ क्षयरोगका बिरामी थिए, भने यस यस आर्थिक वर्षमा करिब १४ सय बढी संक्रमित पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्मरबहादुर कँवरका अनुसार विगतका वर्षमा जिल्लामा एक हजार सम्म बिरामीहरू हुने भएयता पनि गत वर्षदेखि यो रोगका बिरामीहरू बढेका हुन् ।

यस्तै उनले जिल्लामा क्षयरोग कसरी बढेको हो रु भन्ने बारेमा धेरै कार्यक्रमहरू गर्दै जाँदा गाउँघरमा बिरामीहरू भेटिएको पनि बताए । यसलाई नियन्त्रण गर्नको लागि सर्वप्रथम त बिरामीलाई छिट्टो भन्दा छिट्टो पहिचान गरेर तुरुन्त उपचारमा ल्याउन सके मात्र हुने पनि उनको भनाइ छ । यस्तै उनले जति सक्यो छिट्टो उपचारमा ल्याउन सकिन्छ, त्यति नै अन्य ब्यक्तिलाई सर्नबाट रोक्न सकिने पनि बताए । उनले भने,‘ क्षयरोग लागेको ब्यक्तिलाई जति सक्यो छिट्टो उपचार गरिन्छ । त्यसबाट निरोगी ब्यक्तिलाई सर्ने रोक्न सकिन्छ । यस्तै क्षयरोगको बिरामीलाई नियमित औषध खुवाएमा पूर्ण रुपमा निको बनाउन सकिन्छ । यसैगरी नै क्षयरोगलाई बिस्तारै नियन्त्रण गर्न सकिन्छ ।’ यस्तै जिल्लाका १० स्थानीय तहमा पनि शुक्रबार विभिन्न कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाएको छ ।

क्षयरोग निवारणका लागि भन्दै दाङको राप्ती गाउँपालिकाले भने गाउँपालिका स्तरमा क्षयरोगका बिरामीको संख्या घटाउन बिरामी सँग अन्तरक्रिया सँगै स्वयम्सेवकको परिचालन गरी अभियान चलाएको थियो । पछिल्लो समय खानपिन र मानवीय लापरवाहीका कारण क्षयरोग बढ्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । उनले खानपिनका र जीवन शैलीमा सुधार गरेमात्र धेरै रोगहरूबाट बच्न सकिने भन्दै एक खिल्ली चुरोट, एक गिलास रक्सीसँगै धेरैले जीवन साटिरहेको पनि बताए । उनले भने,‘ मैले समाजमा यस्तो ब्यक्तिहरू देखेको छु । जसलाई टिबी भएको छ । जसलाई डाक्टर वा स्वास्थ्यकर्मी तथा घरपरिवारहरूले चुरोट, सुर्ती र रक्सी खानु हुँदैन , भनेको हुन्छन् । तर, टीबीको औषधि खाएको बिरामीहरूले लुकेर चुरोट आएको पाइन्छ ।’

हामीहरूले आफ्नो शरीरलाई जति माया गर्न सक्छौँ । त्यसले हामीलाई साथ दिने भएकाले यस्ता बानीहरू सुधार गर्नु पर्नेमा सुझाव दिए । यस्तै उनले कुनै पनि क्षयरोग लागेको ब्यक्तिहरूलाई नियमित रुपमा औषध खाने पनि आग्रह गरे । उनले भने,‘ क्षयरोग पनि सर्ने र नसर्ने हुन्छ । यसको समयमा पहिचान गरेर औषधि खानु पर्छ । यदि सर्ने रोग रहेछ, भने हामीलाई समाजलाई नै यो रोग सार्न सक्छौँ । त्यसैले शुरुमा रोगको पहिचान गरेर नियमित औषधि खाए यो रोग सजिलै जित्न सकिन्छ ।’ यस्तै तुलसीपुर उपमहानगरपालिकामा चालु आर्थिक वर्षको हालसम्म १८६ क्षयरोगका बिरामी पत्ता लागेका छ । ति मध्य सबै भन्दा बढी ६५ वर्ष भन्दा माथिका ३८ जनामा रहेको उपमहानगरको जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए ।

यस्तै ५५–६४ वर्षको उमेर समुहका ३५ जना , ४५–५४ वर्ष उमेर समूहका ३४ जना ,३५–४४ मा १७ जना , २५–३४ समुहका १९ जना , १५–२४ समुहका १९ जना , ५–१४ समुहका ५ जना र ४ वर्ष मुनिका १५ जना बालबालिकालाई क्षयरोग पुष्टि भएको उनको भनाइ छ । यस्तै उनका अनुसार ति मध्य प्रत्यक्ष सम्पर्क बाट सर्ने सक्ने कडा खालको वा खकारमा कीटाणु देखिएको ९४ जनामा र दोहोरिएको वा पुनः बल्झिएको १२ जनामा देखिएको छ । यस्तै फोक्सोको तर कीटाणु नदेखिएको ३७ जनामा र फोक्सो भन्दा बाहिरी अङ्गहरूमा भएको टीबी ४३ जनामा देखिएको छ । तुलसीपुरमा महिला भन्दा पुरुषमा बढी सङ्ख्यामा टीबी देखिएको छ । जसमा ७६ जना महिला र ११० जना पुरुष रहेका छन् । यस्तै चालु आर्थिक वर्षमा ढिलो गरी रोगको निदान भई पूर्ण उपचार नभएका कारण ४ जनाको मृत्यु भएको भएको उनले जानकारी दिए । तुलसीपुरमा २०७७ / ७८ मा २२४ जना ,२०७८ / ७९ मा ३८२ जना क्षयरोगी पत्ता लागेका थिए । तुलसीपुरमा १३ स्थानबाट टिबी रोगको निःशुल्क पहिचान र उपचार भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार