शैक्षिक सुधार गर्न विद्यालयमा  डिजिटल हाजिरको ब्यवस्था 

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र १० गते शुक्रवार

दाङ :   घोराही ७ सौडियारको जेठो र पुरानो विद्यालय मावि सौडियारको शैक्षिक सुधारको प्रयास थालनी भएको छ । विद्यालय व्यवस्थापन समितिको शुक्रबार सौडियारमा बसेको बैठकले विद्यालयको शैक्षिक सुधार गर्न बायोमेट्रिक हाजिर ( डिजिटल हाजिर ) को ब्यवस्था मिलाउने निर्णय गरेको हो । बिब्यस अध्यक्ष निशान दाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा शिक्षक र विद्यार्थीलाई नियमित गराउन यो इलेक्ट्रोनिक हाजिरीको ब्यवस्था गर्ने निर्णय गरेको बैठकपछि विद्यालय व्यवस्थापन समिति सदस्य जीउधन चौधरीले जानकारी दिए ।

 त्यस्तै बैठकले विद्यालयमा खानेपानीको उचित प्रबन्ध गर्नका लागि घोराही ७ को वडा कार्यालयलाई अनुरोध गर्ने र विद्यालयमा टाढाटाढाबाट अध्ययन गर्न आउने विद्यार्थीहरूको सहजताका लागि स्कुल बस सञ्चालनका लागि घोराही उपमहानगरमा पहल गर्ने निर्णय गरेको छ । यसै गरेर बैठकले विद्यालयको शैक्षिक गतिविधिलाई व्यवस्थित रुपमा सञ्चालन गर्न विद्यालय व्यवस्थापन समिति सदस्य भोजराज रावतको संयोजकत्वमा विद्यालयका सहायक प्रधानाध्यापक यामलाल रिजाल, शिक्षक दामोदर पाण्डे सदस्य रहेको शैक्षिक सुधार अध्ययन समिति गठन गरेको छ,  भने विद्यालयको आर्थिक अवस्था बारे अध्ययन गर्न बिब्यस सदस्य जीउधन चौधरीको नेतृत्वमा विद्यालयका शिक्षक मोतिलाल केसी, वामदेव पोखरेल सदस्य  रहेको आर्थिक अध्ययन समिति गठन गरेको छ । 

बिब्यस पदेन सदस्य घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले विद्यालयका लेखापाल केशव केसीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले आउँदो नयाँ शैक्षिक सत्रमा मन्टेश्वरी विधिबाट विद्यालयमा प्रावि तहमा अंग्रेजी माध्यमबाट पठन पाठन सञ्चालन गर्ने र त्यसका लागि स्वयंसेवक शिक्षक प्रबन्ध गर्ने निर्णय गरेको छ ।  सो अवसरमा एमाले घोराही ७ का उपाध्यक्ष माधव न्यौपाने, तरुण दल घोराही ७ का अध्यक्ष लोकबहादुर कुँवर, विद्यालयका शिक्षक प्रतिनिधि मोतिलाल केसी लगायतकाले बोलेका थिए । कार्यक्रममा विद्यालयको शैक्षिक अवस्थाका बारेमा प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले गरेका थिए । यसैबीच मावि सौडियारको कक्षा ९ मा अध्ययनरत विद्यार्थीले एसईइ दिने कक्षा १० का विद्यार्थीहरूलाई पनि बिदाई गरेका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार