दाङ : पश्चिम नेपालकै पुरानो, त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एक जना सदस्य बाहेक नेविसङ्घको प्यानल बिजयी भएको छ । बुधबार भएको निर्वाचनमा नेपाल विद्यार्थी संघका मनोज डिसीले अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै स्ववियुको सभापतिमा निर्वाचित भएका हुन् । उनले १ हजार ९६ मत प्राप्त गदै बिजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्त उम्मेदवार महराले ६२० मत प्राप्त गरेका थिए ।
क्याम्पसमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँले तालमेल गरेका थिए । त्यस्तै सभापतिमा विप्लव निकट अखिल क्रान्तिकारीका खुमबहादुर केसी ( खुमन) ले १२४ मत प्राप्त गरेका थिए । यस्तै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका मुस्कान पोख्रेलले २८, स्वतन्त्र विद्यार्थी समूहबाट अभिषेक विष्टले १३० र अनेरास्ववियु छैटौँ ( क्रान्तिकारी) का सेवक भट्टराईले ४५ मत प्राप्त गरेका थिए । सचिवमा ९५५ मत प्राप्त गर्दै नेविसङ्घका बसन्त भण्डारी बिजयी भएका छन् ।
उनका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५८३ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा पनि नेविसङ्घकै ममता केसी ९९६ मत ल्याएर विजयी भइन्, भने अखिल संयुक्तका सागर पण्डितले ६९४ मत प्राप्त गरि पराजित भए । यस्तै सदस्यमा नेविसङ्घका बसन्त कडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्ववियुका सविन पोख्रेल बिजयी भएका छन् । चैतको ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका रहेपनि बिप्लप निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण चैत ८ गते महेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन भएको थियो ।
क्याम्पसमा ५ हजार ९४० जना मतदाता रहेकामा २ हजार १३२ मत खसेको छ । २०१६ सालमा स्थापना भएको क्याम्पस साविक राप्ती अञ्चलकै पुरानो र जेठोको क्याम्पसका रुपमा रहेको छ । उक्त क्याम्पसमा निर्वतमान उपराष्ट्रपति नन्दकिशोर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, पूर्व शहरी विकास मन्त्री मेटमणि चौधरी, कांग्रेस नेता खुमबहादुर खड्काले अध्ययन गरेका थिए ।