विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ७ गते मङ्गलवार


दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विपद् पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन्। मंगलबार प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा बोल्दै मुख्यमन्त्री गिरीले विपद् जुनसुकै बेला पनि आउन सक्ने भन्दै  विपद् आउनु पूर्व नै यसको रोकथाम गर्ने तयारी थाल्न आग्रह गरे । उनले  जोखिमयुक्त स्थानमा विपद् पूर्व तयारी आग्रह गर्दै  यसतर्फ लाग्न ढिलाइ नगर्न समेत अनुरोध गरे ।

प्रदेशभित्र विपद्को उच्च जोखिमयुक्त क्षेत्र रहेको भन्दै उनले  विपद्बाट हुने प्राकृतिक र मानवीय क्षति न्यूनीकरण गर्नतर्फ सरकार योजना बनाएर लाग्ने पनि बताए  ।  उनले भने,‘ प्रदेश सरकार  विपद्को उच्च जोखिममा रहेको क्षेत्रभित्र पर्दछ । यहाँ बाढी, पहिरो, डुबान , आगलागी जस्ता विपद् रहेका छन् । विपद् जुनसुकै बेला पनि आउन सक्छ । त्यसैले यसको जोखिम रोकथाम गर्न सरकार योजना बनाएर लाग्छ । विपद्बाट हुने प्राकृतिक र मानवीय क्षति न्यूनीकरण गर्ने दायित्व सरकारले बहन गर्दछ ।’
उनले विपद् व्यवस्थापन सम्बन्धी आवश्यक कानुन निर्माण गर्न ढिलाइ गर्न नहुने भन्दै  कानुन निर्माणको कार्य थालनी गर्न पनि निर्देशन दिए  । कार्यक्रममा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश विपद् व्यवस्थापन परिषद् गठन गरेको बताए ।  

उनले प्रदेशभित्र हुने विपद्को जोखिम रोकथाम र न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरण रणनैतिक कार्ययोजना निर्माण गरेको भन्दै यसैको जगमा विपद् जोखिम न्यूनीकरण गर्नतर्फ सरकार लागि पर्ने पनि बताए ।   यस्तै लुम्बिनी प्रदेशको विपद् जोखिम न्यूनीकरण रणनैतिक कार्ययोजना पारित भएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयले तयार पारेको कार्ययोजना पारित गरेको हो । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार