दाङमा रेबिज विरुद्ध खोप लगाउने संख्या बढ्दै

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ७ गते मङ्गलवार


दाङ : दाङमा घर पालुवा जनावर कुकुर, बिरालासँगै जंगली जनावर बाँदरको आक्रमण बढ्न थालेको छ । जिल्लाका दुई ठूला अस्पतालमा मासिक करिब २ सय भन्दा बढि घरपालुवा जनावर कुकुर, बिरालो तथा जंगली जनावर बाँदरले टोकेका बिरामी उपचार गर्न आउने गर्छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पतालमा गरी मासिक २ सय भन्दा बढि बिरामीहरू आउने गरेको अस्पतालहरूको भनाइ छ । यस्तै पछिल्लो समय तुलसीपुरमा बाँदरले टोकेका बिरामीहरू बढ् थालेका छन् । अस्पतालका सूचना अधिकारी भुषण सुवेदीका अनुसार माघदेखि चैत ५ गतेसम्म ३६ जना बाँदरले टोकेका बिरामीहरू रेबिज विरुद्ध खोप लगाउन आएका छन् । माघ महिनामा २२० जनाले रेबिज विरुद्ध खोप लगाएको उनको भनाइ छ । ति मध्य कुकुरले टोकेका १२७ जना, बाँदरले टोकेका २३ जना, बिरालोले टोकेका २९ जना र रेबिज लागेको जनावरको र्यालबाट लसपस भएका २६ जनाले रहेका छन् ।

यस्तै फागुन महिनामा कुकुरले टोकेका १०६ जना, बाँदरले टोकेका ८ जना, बिरालोले टोकेका १३ जना, र्यालबाट लसपस भएका २८ जनाले खोप लगाएको उनले बताए । उनका अनुसार चैत महिनाको ५ गतेसम्म बाँदरले टोकेका ५ जना खोप लगाउन अस्पताल आएका छन् । तुलसीपुरमा मात्र नभइ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि घरपालुवाले टोकेका बिरामीहरू माघ महिनामा भन्दा फागुन महिनामा बढेका छन् । प्रतिष्ठानका रेक्टर डा. अजय गौतमका अनुसार फागुन महिनामा ९३ जना रेबिज विरुद्धको खोप लगाउन आएका थिए । उनले भने,‘ अघिल्लो महिनाको तुलनामा फागुन महिनामा खोप लगाउन बढि आएका छन् । अन्य महिनामा मासिक सरदर ६० ÷ ७० जना आउने गरेको थिए । तर, फागुन महिनामा घर पालुवा जनावरले टोकेपछि खोप लगाउन ९३ जना आएका थिए ।’ यस्तै उनले जनवारले टोकेको घाउ अनुसार नै उपचार गरिने व्यवस्था रहेको पनि बताए ।

उनले भने,‘ साधारण केही नभएको अवस्थामा उनीहरूलाई केही उपचार गर्नु पर्दैन । थोरै घाउ भएको अवस्थामा ३ वटा सुइ लगाए पुग्छ । तर, धेरै ठुलो घाउ भएको खण्डमा सुई मात्र लगाए नहुने भएकाले एमोनोग्लोबिन पनि घाउ भएको ठाउँमा लगाउनु पर्छ । घरमा पालेको बिरालाले टोकेर रेबिज विरुद्धको खोप लगाउन राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आए तुलसीपुर ७ का वेग प्रसाद भण्डारीले भने पछिल्लो समय तुलसीपुरमा बाँदरले टोक्ने क्रम बढ्नु जङ्गलमा रमाएको जनावर शहरमा आउँदा जिस्काउँदा टोक्ने गरेको पनि बताए । उनले भने,‘ जङ्गलमा जंगली जनावरहरू रमाएका हुन्छन् । तर, उनीहरु खानाको लागि गाउँ वा शहरमा छिर्छन् । ति जनावरहरू देखेपछि हामीहरूले जिस्काउँदा वा लखेट्न लाग्दा मानिसहरूलाई आक्रमण गर्दछन् । । त्यसैले जंगली जनावर मात्र नभइ घरपालुवालाई पनि जिस्काउनु हुँदैन ।’

यस्तै आफूले पनि घरमा बिरालोको साना बच्चालाई आफ्ना आमा भएको ठाउँमा राख्न खोज्दा आमा रिसाएर टोकेको पनि बताए । उनले भने,‘ पहिलो कुनै पनि जनावरले टोकेका यसरी अस्पतालमा सुई लगाउन आउँदैन्थ्यो । अहिले कुनै पनि जनावरले टोकेमा अस्पताल सुई लगाउन दौडिनु पर्छ । ’ पछिल्लो समय घर पालुवा जनावरसँगै जंगली बाँदरको टोक्ने क्रम बढ्नुमा जङ्गलमा खाने कुराको अभाव हुँदै गएपनि जंगली जनावरहरू गाउँ शहरमा पस्ने उनीहरूलाई जिस्काउँदा वा लखेट्दा टोक्न गरेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताए । गत फागुन १७ गतेदेखि यही चैत ३ गतेसम्म मात्र एक सय ३ जना मानिसहरूलाई विभिन्न जनावरहरूलाई टोकेपछि खोप लगाउन आएको उनको भनाइ छ ।

उनले भने,‘ पहिला धेरै कुकुरले टोकेकाहरु खोप लगाउन आउथेँ । तर, अहिले बाँदरले टोकेकाहरु पनि संख्या बढ्दै गएको छ । गाँस, बास, कपास भने जस्तै जङ्गलमा पछिल्लो समय खाने कुराहरुको समस्या भएपनि जनावरहरू गाउँ बस्तीमा प्रवेश गर्ने गर्दछन् । त्यसपछि मानिसहरुले जिस्काउँदा वा लखेट्दा रिसाएर उल्टै आक्रमण गर्छन् । ’ यस्तै उनले गाउँ शहरमा छाडा रहेका कुकुर बिराला तथा जंगलबाट आएका जनावरहरुलाई व्यवस्थित गर्नु पर्ने पनि सुझाव दिए । पछिल्लो समय मानिसहरूलाई टोक्ने क्रम बढिरहेको अवस्थामा छाडा जनावरहरुलाई न्युनिकरण गर्न ध्यान दिनु पर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार