कर तिर्दा पनि सास्ती, ट्रायल दिँदा पनि सास्ती ( भिडिओसहित )

Author Logo..
प्रकाश केसी २०७९ चैत्र ६ गते सोमवार


दाङ :  प्यूठानका श्रीधर भण्डारीले गत माघ ३ गते मोटरसाइकलको लाइसेन्सको लागि लिखित परीक्षा दिए । परीक्षा दिनको लागि पनि उनले यातायात व्यवस्था कार्यालयमा आउँदा निकै सास्ती पाए । त्यति बेला पनि एकदमै भिडभाडका कारण घन्टौँसम्म लाइनमा बसेर सेवा पाए । उनी लिखितमा पास भएपनि ट्रायल दिनको शनिबार ट्रायल दिनको लागि दाङ आइपुगे । उनको ट्रायल आइतबार थियो । उनी बिहान करिब ८ बजे ट्रायल दिने स्थानमा पुगेर लाइनमा बसे । तर, उनले दिउँसो करिब २ बजेसम्म पनि पालो नपाएको गुनासो गरे ।

उनले भने,‘ कर तिर्दा पनि यस्तै समस्या भोग्नु पर्छ । ट्रायल दिँदा पनि यस्तै समस्या भोग्नु परेको छ । बिहान ८ बजेदेखि लाइनमा बसेको थिए । कर्मचारीहरू करिब १२ बजेतिर खाना खान गए । उनीहरु आएपछि भिडभाड पनि बढि भयो । अनि मेरो लाइन कता हो । मलाई नै थाहा भएन । ’ उनले आफूहरू घन्टौँसम्म लाइनमा बसेपनि सहज हुनु पर्ने समेत बताए । खाना नखाएर लाइनमा बसेको अवस्थामा व्यवस्थापन राम्रो नहुँदा भद्रगोल भएर धेरै दुख पाएको पनि गुनासो गरे । यस्तै श्रीधर मात्र नभइ ट्रायल दिन आएका दाङ लगायत रुकुम, रोल्पा, प्युठानका सेवाग्राहीले यस्तै सास्ती भोग्नु परेको थियो ।

यस्तै घोराहीबाट आएका नन्द परियारको पनि गुनासो उस्तै रहेको थियो । उनले पनि आफू बिहान ७ बजेदेखि लाइनमा बसिरहेको भन्दै व्यवस्थापन राम्रो नहुँदा समस्या भोग्नु परेको गुनासो गरे । उनले भने,‘ एउटा कार्यालयबाट दाङ मात्र नभइ अन्य जिल्लाबाट पनि मानिसहरू सेवा लिन आउने गरेका छन् । भिडभाड त हुने नै भयो । तर, पालो अनुसार सबैले सेवा पाउनु पर्ने हो । यहाँ एउटै ब्यक्तिले २० जनासम्मको कागज बोकेर इन्ट्री गर्ने गएको देखियो । हामी जस्ता सोझा जनता त भोकै लाइनमा बस्न बाध्य भएका छौँ ।’

यस्तै उनले एक दिन एक हजारसम्म सेवाग्राहीसँग ट्रायल लिदाँ पनि भिडभाड हुने भएकाले कार्यालयले त्यही अनुसार व्यवस्थापन गर्नु पर्ने पनि सुझाव दिए । उनले भने,‘ एक जना कर्मचारीले इन्ट्री गरेरको पाइन्छ । एकै दिन हजार जनालाई बोलाएर ट्रायल लिदाँ यस्तै समस्या हुन्छ । कि कर्मचारीहरू बढाउनु पर्छ । होइन भने दर्ता नम्बर अनुसार ट्रायल गराउनु पर्छ । बिहान देखि लाइनमा बसेका छौँ । बाहिर केही खान जाऔँ । पालो हराउँला भन्ने डर, नजाऔँ भोकले हैरान ।’
यस्तै दाङको भालुबाङबाट स्कुटरको लाइसेन्सको लागि ट्रायल दिन आएकी हर्सीता रोका मगर पनि बिहान ७ बजेदेखि लाइन बसेको बताइन् । उनले पनि दिउँसो २ बजेसम्म ट्रायलको लागि इन्ट्री गर्न पालो नआएको गुनासो गरिन् । उनले भनिन्,‘ अहिलेसम्म पालो आएको छैन् । भिडभाड निकै छ । अहिलेसम्म लाइनमा खाना नखाएर बसिरहेकी छु । यहाँ महिलाहरूको लागि छुट्टै व्यवस्था पनि छैन् । एकजनाले मात्र इन्ट्री गरिरहनु भएको छ । यस्तो भिडभाडमा त महिलाको लागि छुट्टै व्यवस्थापन हुनु पर्ने हो ।’

एकै दिन एक हजार जनासम्मको ट्रायल हुन्छ :  यातायात कार्यालय

यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङका अधिकृत ( सातौँ ) हुकुम बहादुर ओलीका अनुसार एक दिन एक हजार सम्मको ट्रायल लिने गरेको बताए । उनले भने,‘ आज ९४१ जनाको लागि मात्र ट्रायल दिन लागेका छन् । हामीले दुई पाङ्ग्रे सवारीको खण्डका एक हजार सम्मलाई एक दिने गरेका छौँ । त्यसैले आज त्यति साह्रो अव्यवस्थित होइन् । सेवाग्राहीहरू खाना खाएपछि एक पटक धेरै आउँदा भिडभाड भएको हो । ’ उनका अनुसार ४ पाङ्ग्रे गाडीको लागि दिनमा ४ सय जनासम्मको र २ पाङ्ग्रेको एक हजार जनासम्मको दिनमा ट्रायल लिइन्छ ।

बिहान ६ बजेदेखि ३ बजेसम्मको समय तोकिएको पनि उनको भनाइ छ । अहिले दिन लागेको ९४१ जनालाई त्यो समय प्राप्त हुने पनि उनले बताए । उनले भने,‘ बिहान ६ बजेदेखि ३ बजेसम्म आउने मानिसहरूको संख्या एकैनास भएपछि यस्तो भिडभाड हुँदैन । तर, यहाँ कहिले काहीँ बिहान ६ बजे मान्छेहरू नआउने र खाना खाएपछि सबै एकै पटक आउँदा भिडभाड धेरै हुने र व्यवस्थापनमा केही समस्या हुन्छ । एकनासले मानिसहरू आएमा एक हजार जनासम्मको ठुलो संख्या हुँदैन ।’ यस्तै उनका अनुसार एउटा सेवाग्राहीले लाइसेन्सको फारम भरेपछि सबै प्रक्रिया पुरा गरेको खण्डमा करिब एक महिनामा ब्यक्तिले नयाँ लाइसेन्स पाउने गरेका छन् ।

निमित्तको भरमा कार्यालय सञ्चालन

तुलसीपुरमा रहेको यातायात व्यवस्था कार्यालयले दुई क्षेत्रमा सेवा दिँदै आइरहेको छ । जसमा यातायात सवारी र लाइसेन्सको सेवा दिँदै आइरहेको छ । तर, एउटै कार्यालयबाट दुई वटा सेवाहरू प्रदान गर्दै आइरहेको भएयता पनि अहिले पनि दरबन्दी अनुसारको जनशक्ति नहुँदा निमित्तको भरमा कार्यालय सञ्चालन भइरहेको कार्यालयको भनाइ छ । दरबन्दीमा उपसचिव कार्यालय प्रमुख र दुई जना शाखा अधिकृत सहितको रहेता पनि शाखा अधिकृतको भरमा कार्यालय सञ्चालन भइरहेको कार्यालयका सातौँ अधिकृत ओलीले बताए ।

उनका अनुसार कार्यालयमा सवारी प्राविधिक क्षेत्रमा एक इन्जिनियर र एक जना मेसुको दरबन्दी रहेको भएयता पनि इन्जिनियर नहुँदा अहिले मेसुले नै समय कुराहरू हेर्दै आएका छन् । उनले भने,‘ गाडीको प्रदुषण, गाडीको चान पास मेकानिकल इन्जिनियरले नै गर्नु पर्छ । तर, यहाँबाट गाडीको प्रदुषण चेक हुँदैन । अन्य कुराहरूको चेकजाँच मेसुले नै गर्दै आउनु भएको छ । उहाँले पेस गर्नु हुन्छ । अहिले मैले नै इन्जिनियरको काम गर्दै मेसुलाई आधिकारिक दिने गरेको छु ।’
७० प्रतिशत लागूले सेवाग्राही खुशी

सरकारले सवारी साधनको लाइसेन्सको लागि ७० प्रतिशत ल्याएपनि लाइसेन्स दिने व्यवस्था गरेपछि सेवाग्राही पनि निकै खुशी भएका छन् । घोराहीका सन्दिप थिङले मोटरसाइकलको लाइसेन्सको लागि ट्रायल दिँदा सबै प्रक्रियाहरू पुरा गरेर मोटरसाइकलको साइट लाइट बाल्न भुले । उनले लाइट बाल्न भुल्दा १० नम्बर कम भयो । तर, पनि उनी ट्रायलमा पास भएर लाइसेन्स प्राप्त गरे ।

उनले भने,‘ मैले पहिला कारको लाइसेन्स लिने बेला यस्तो नियम लागू थिएन । त्यो बेला कुनै पनि मिस्टेक भएमा फेल भइन्थ्यो । तर, अहिले ७० अङ्क ल्याए पनि लाइसेन्स प्राप्त हुन्छ । यदि पुरानै अवस्था भएको भए म फेल हुन्थे । तर, नयाँ नियम लागू भएसँगै ७० प्रतिशत अङ्क आए पनि लाइसेन्स पाइने कुराले निकै खुशी लागेको छ । यस्तै राम्रो चलाउन जानेको पनि शुरुमा डरका कारण हत्त पत्ताएर फेल हुने गरेको भन्दै अहिलेको नियममा कुनै गल्ती भएपनि ७० प्रतिशत अङ्क ल्याउन सकेमा लाइसेन्स पाइने भएकाले सबैलाई सहज भएको पनि उनको भनाइ छ ।

दुई पाङ्ग्रे र चार पाङ्ग्रे लाइट गाडीमा ७० प्रतिशत अङ्क लागू

यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङका अधिकृत ओलीका अनुसार यो नियम लागू भएसँगै कार्यालयमा पनि लागू भएको र ७० प्रतिशत अङ्क ल्याउने दुई पाङ्ग्रे र चार पाङ्ग्रे लाइटको लागि सवारी चालकले लाइसेन्स पाउने गरेका छन् । उनले भने,‘ यो नियममा शुरुमा ८ मा ट्रायल दिँदा एक पटक खुट्टाले टेकेमा र लाइन छोएमा पनि उनीहरूले मौका पाउँछन् । त्यसो भएमा उनीहरूको एक पटकमा ५ अङ्क घट्छ । त्यसपछि उनीहरु साँघुरो बाटोमा अगाडि आउँछन् । त्यहाँ पनि दायाँ बायाँ गएमा उनीहरु फेल हुन्छन् । त्यसपछि घुम्तीमा आउँदा लाइन तथा पोल छोएमा फेल हुन्छन् । तर, घुम्तीमा साइट लाइट कुनै कारणले नबालेको खण्डमा फेल हुँदैनन् ।’

यस्तै लाइट नबालेको कारण १० अङ्क घट्ने पनि उनको भनाइ छ । यसैगरी जेब्राक्रसमा रातो बत्ती बलेको समयमा हिँडेमा वा हरियो बत्ती बलेको बेला रोकेमा ट्राफिक नियम उल्लंघन गरेको हुँदा १५ अङ्क घट्ने समेत उनले बताए । यस्तै ब्रेकरहरुमा गाडीको स्टार्ट बन्द भएमा वा एउटा खुट्टा टेकेको खण्डमा पनि ५ अङ्क घट्ने उनले बताए । उनका अनुसार उकालोमा बनाएको लाइन छोएमा फेल हुने र एक पटक स्टार्ट बन्द भएमा एक पटक मौका दिने र ओरालोमा स्टार्ट बन्द भएमा वा लाइन छोएमा फेल हुन्छन् ।

उनले भने,‘ पहिला यस्तो कुनै मौका दिँदैन्थ्यो । तर, अहिले ७० प्रतिशत अङ्कमा ट्राफिक लाइटमा गल्ती गरेको खण्डमा फेल हुँदैनन् । तर, शुरुको ८ देखि अन्तिम ओरालोको पार्किङसम्म आइपुग्दा उनीहरूले ७० प्रतिशत अङ्क ल्याए लाइसेन्स प्राप्त गर्छन् ।’ उनका अनुसार एक सय अङ्क ल्याए पनि ७० अङ्क ल्याए पनि सबैले एउटै किसिमको लाइसेन्स प्राप्त गर्छन् । तर, ७० प्रतिशत ल्याएर पास भएको ब्यक्तिले आफूले कहाँ गल्ती गरेको भन्ने बारेमा जानकारी पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार