दाङ : तुलसीपुर उपमहानगरपालिका ९ ले आयोजना गरेको वडास्तरीय हाजिरजवाफ प्रतियोगितामा मावि दोघरे प्रथम भएको छ । बिहीबार वडाको आयोजनामा वडा भित्र रहेकाका संस्थागत तथा सामुदायिक गरी ७ वटा विद्यालयको सहभागिता रहेको थियो ।विद्यार्थीहरूको बौद्धिक विकासको लागि आयोजना गरिएको हाजिरजवाफ प्रतियोगितामा मावि दोघरे प्रमथ हुँदा नगद ६ हजार र प्रमाणपत्र पाएको थियो । यस्तै प्रतियोगितामा दोस्रो हुने सप्तरङ्गी इङ्लिस बोर्डिङ स्कुलले नगद ४ हजार प्रमाणपत्र , तेस्रो भएको सगरमाथा बालवाटिका बोर्डिङ स्कुलले नगद २ हजार प्रमाण र सरस्वती चौतारा आधारभुत विद्यालय सल्लिबनले सान्त्वना स्थान हासिल गर्दै नगद र प्रमाण पत्र पाएको थियो ।
प्रतियोगितामा मावि दोघरे, सप्तरङ्गी इङ्लिस बोर्डिङ स्कुल, सगरमाथा बालवाटिका बोर्डिङ स्कुल, पारिजात बोर्डिङ स्कुल, साधना पाठशाला, जीवन प्रेमी र सरस्वती चौतारा आधारभुत विद्यालय सल्लिबनको सहभागिता रहेको थियो । वडाध्यक्ष घनश्याम ढकालको अध्यक्षता एवं नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले विद्यार्थीलाई यस्ता प्रतियोगिताले व्यक्तित्व विकास हुनुको साथै बौद्धिक विकास पनि हुने भएकाले आगामी दिनमा यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।
उनले वडाले विद्यार्थीहरूको क्षमता वृद्धि हुने कार्यक्रमको आयोजना गरेको धन्यवाद समेत दिए । उनले शिक्षामा कलम कापी किनेर दिएर मात्र विद्यार्थीहरूको जीवन स्तर माथि उठ्छ, भन्ने अहिले पनि बुझाइ रहेको भन्दै विद्यार्थीहरूको जीवनस्तर माथि उठाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने पनि बताए । उनले भने,‘ यो प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान मात्र नभइ हामीलाई पनि ज्ञान प्राप्त भएको छ । अन्तर विद्यालय हाजिरी जफाव प्रतियोगिताले आज अत्यन्तै ठुलो उपलब्धि भएको छ ।’यस्तै उनले वडा कार्यालयले वडा भित्र रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरू बिच गएको प्रतियोगिताले पनि राम्रो सन्देश दिने बताए ।
उनले भने,‘ हामी कहाँ एउटा ठुलो समस्या रहेको छ । सामुदायिक विद्यालयहरूले कुनै कार्यक्रम गर्दा सामुदायिक विद्यालयहरू मात्रै सहभागि हुने र संस्थागत विद्यालयहरूले आयोजना गर्दा पनि संस्थागत विद्यालयहरू सहभागि हुने रहेको छ । यि दुबै क्षेत्र उपमहानगरको शिक्षा क्षेत्र भित्रका संस्थाहरू हुन् । जुन संस्थालाई हामी एउटै ठाउँमा ल्याएर प्रतिस्पर्धा गराउन सकेकोमा यसले एउटा नयाँ सिकाइ र नयाँ उपलब्धि भएको छ ।’ यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष ढकालले आगामी दिनहरूमा पनि वडाले यस्तो कार्यक्रमहरू गर्दै जाने बताए ।
उनले भने,‘ अन्तर विद्यालय यस्ता प्रतियोगिताहरू अगाडि बढिरहने छन् । खेलकुद प्रतियोगिताहरू पनि हुने छन् । विद्यार्थीहरूलाई पढाइ मात्र नभइ उनीहरूले अन्य ज्ञान दिनु पर्छ, भन्ने कुरामा वडा कार्यालय लाग्ने छ ।’यस्तै वडाले वडा भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका जेहेन्ददार विद्यार्थीहरूलाई नगद र प्रमाण पत्रले पनि सम्मान गरेको छ , भने कार्यक्रमको सहजीकरण वडा सचिव यमनारायण सापकोटाले गरेका थिए ।