रोल्पा : रोल्पामा मंगलबार राती चट्याङ पर्दा एक घर पूर्ण रूपले क्षति भएको छ । रुन्टीगढी गाउँपालिका ६ डोक्रावन स्थित चन्द्र बहादुर खड्काको घरमा गतराति करिव साढे एघार बजेतिर चट्याङ पर्दा घर भित्रका सबै चिज नष्ट भएका छन् , भने मानवीय क्षति भने भएको छैन् । चट्याङबाट घरमा भएका दुईवटा बाख्रा पाठा, विदेश जान ऋण लिएको नगद तीन लाख, अन्न, लत्ताकपडा गरि करिब साढे चार लाख क्षति भएको पारिवारिक स्रोतले जनाएको छ ।
मध्यरातमा भएको घटना पातलो बस्ती र पानीको अभावले आगो नियन्त्रण लिन कठिन भएको बुझेको छ । बुधबार बिहान अबेर मात्र स्थानीय निभाउन सफल भएका थिए । यसैबीच घटनास्थलमा बिहान वडा नं ६ अध्यक्ष घन बहादुर घर्ती र इप्रका होलेरीबाट प्रहरी टोली पुगेर स्थलगत अवलोकन गरिएको छ । परिवारलाई तत्काल बस्नको लागि स्थानीय आफन्त भीम बहादुर खड्काले आफ्नो घरमा बसेका छन् । आगलागीबाट घर पूर्ण रूपले नष्ट भएपछि परिवारले सहयोगको याचना गरेको छ ।