खड्का दम्पतीले गरे १४ लाखको जग्गा दान

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन ३० गते मङ्गलवार


दाङ :   तुलसीपुरको नयाँ बसपार्क पुल्चोकमा जारी श्रीमद्भागवत महापुराण तथा शिव चर्चामा दान दाताको सहभागिता बढ्दै गएको छ । जारी महापुराणमा सोमबारमात्रै तुलसीपुर ९ बेलुवा निवासी रुद्रसिंह खड्का र उनकी श्रीमती विमला खड्काले १४ लाख बराबरको जग्गादान गरेका छन् । 
खड्का दम्पतीले स्वर्गीय हजुरबुवा झुपि खड्का र बुवा गृहलाल खड्काको सम्झनामा जग्गादान गरेका हुन् ।  ८ मिटर चौडाइ र १८ मिटर लम्बाइ क्षेत्रफल रहेको जग्गा खड्का दम्पतीले दान गरेका हुन् । 

खड्का दम्पतीले यसअघि पनि टोल विकास संस्थाको भवन र मन्दिर बनाउन जग्गादान गरेका थिए । जयशिव महाकाल मानवसेवा आश्रमको आयोजनामा फागुन २४ गतेदेखि जारी महापुराणमा १४ लाख बराबरको जग्गासहित नगद २ लाख ७० हजार बढी सहयोग प्राप्त भएको हो ।  अशक्त, असाहय , दुःखी, गरिबका लागि भोक र प्यास विरुद्धको महाअभियानका साथ आश्रमले श्रीमद्भागवत महापुराण तथा शिव चर्चा सञ्चालन गरेको छ । कोही नभएका र केही नभएकाहरूलाई निःशुल्क रुपमा साँझ बिहान खाना खुवाउँदै आएको जय शिव महाकालले गरिब दुःखीहरूलाई बासस्थान बनाउनको लागि र उपचारमा पनि सहयोग होस् भन्ने उद्देश्यका साथ श्रीमद् भागवत महापुराण सञ्चालन गरेको हो ।

महापुराणमा दैनिक रुपमा कथा वाचनका साथै शिव चर्चा समेत हुने गरेको छ । महापुराणको प्रमुख कथा वाचकमा अच्युत शरण धिताल रहेका छन्,  भने उप कथावाचकमा पण्डित अङ्गिरा जोशी रहेका छन् । । जारी महापुराणमा सोमबारमात्रै तुलसीपुर ७ निवासी भिमार्जुन पौडेलले १५ हजार ७५०, तुलसीपुर ९ मा रहेको जीवन प्रेम एजुकेशनले ११ हजार ५५, तुलसीपुर ५ निवासी दिनेश कुमार खड्काले ११ हजार , तुलसीपुर ९ निवासी मेघराज खड्काले ११ हजार नगद सहयोग गरेका हुन् । 

यसैगरी शान्तिनगर ४ निवासी इन्द्रलाल भडेलले ५ हजार ६ सय ५, तुलसीपुर ९ निवासी तथा हाल भारतमा रहेका डम्बर पुरीले ५ हजार १५५, तुलसीपुर ९ को अमृतपुर टोल विकास संस्थाले ५ हजार ५५५ र शिवज्योती टोल विकास संस्थाले ५ हजार ५ सय ५, तुलसीपुर ५ निवासी प्रेमसिंह बुढामगरले ५ हजार १०५, तुलसीपुर ५ निवासी पवन भण्डारीले ५ हजार ५ सहयोग गरेका हुन्  । जारी महापुराण अन्य दाताहरूले पनि नगद सहयोग सहयोग गरेको आर्थिक संयोजक शेर बहादुर घर्तीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार