बबई गाउँपालिकाद्धारा सञ्चालित १७ महिनादेखि वेवारिसे अवस्थामा

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन २९ गते सोमवार


दाङ : दाङको बबई गाउँपालिकाद्धारा सञ्चालित १७ महिनादेखि वेवारिसे अवस्थामा रहेको छ । बबई गाउँपालिका ६ पञ्चकुले स्वास्थ्य चौकीद्वारा सञ्चालित ‘ग’ वर्ग प्राप्त रा १ झ १४३ नम्बरको एम्बुलेन्स करिब १७ महिनादेखि वेवारिसे अवस्थामा रहेको छ । २०७८ असोज १४ गते दुर्घटनामा परेको उक्त एम्बुलेन्स अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको बाहिर धुलाम्मे अवस्थामा वेवारिसे अवस्थामा रहेको छ । पश्चिम दाङबाट तुलसीपुर तर्फ आउँदै गरेको उक्त एम्बुलेन्स बागर नजिक मोटरसाइकलसँग ठोक्किएको थियो ।

दुर्घटना भएपछि उक्त एम्बुलेन्स प्रहरीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याएर राखिएको थियो । तर, एम्बुलेन्स राखेको १७ महिना हुँदा समेत नत गाउँपालिकाले चासो दिएको छ, नत पञ्चकुले स्वास्थ्य चौकीले नै एम्बुलेन्स लैजाने विषयमा चासो देखाएको छ । लामो समयदेखि एम्बुलेन्स थन्काएर राख्दा एम्बुलेन्स धुलाम्मे मात्र नभइ इन्जिनमा खिया समेत लागेको छ । बिरामीहरूको सहजताका लागि राज्यले लाखौ रकम खर्च गरेर खरिद गरिएको एम्बुलेन्स बेवारिसे अवस्थामा राख्दा गाउँपालिकाको चौतर्फी आलोचना समेत हुँदै आएको छ । स्वास्थ्य चौकीमा एम्बुलेन्स नहुँदा उपचारको लागि स्वास्थ्य चौकी बाहिर जाने बिरामीहरूले समेत समस्या भोग्नु परेको छ ।

यता इलाका प्रहरी कार्यालय तुलसीपुरले पटकपटक गाउँपालिकालाई एम्बुलेन्स लैजानको लागि लिखित मौखिक जानकारी गराउँदा समेत लिन नआएको जनाएको छ । निवर्तमान जनप्रतिनिधिहरूको पालामा दुर्घटनामा परेको उक्त एम्बुलेन्स लैजानेतर्फ त्यो बेलाका जनप्रतिनिधिहरूले पनि चासो नदेखाएको र नयाँ जनप्रतिनिधिहरू आएपछि पनि जानकारी दिँदा समेत अहिलेसम्म एम्बुलेन्स लैजाने विषयमा कुनै प्रतिक्रिया नआएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

‘हामीले एम्बुलेन्स लैजानुस् भनेर पालिकालाई खवर गरेकै हो, उहाँहरु लिन आउँनु भएको छैन्, उहाँहरूको सम्पत्ति सुरक्षित तरिकाले हामीले राखेका छौ,‘ इप्रका तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले भने,‘ लाने नलाने उहाँहरूको कुरा हो । एम्बुलेन्सको विषयमा गाउँपालिकाका कर्मचारीहरूसँग फोनमा कुरा भएपनि उहाँहरु अफिसमा हामीसँग आउनु भएको छैन् ।’ उता गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीले एम्बुलेन्सको बारेमा गाउँपालिकामा कुनै अभिलेख नरहेको जानकारी दिए । ‘अघिल्लो जनप्रतिनिधिहरूको पालामा एम्बुलेन्स दुर्घटना भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा राख्नु भएको रहेछ अहिले हामीले अभिलेख हेर्ने बेला केही भेटाएनौ,’ उनले भने । पञ्चकुले स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको दुर्घटना लगायतका अन्य गतिविधि तत्कालीन वडाध्यक्ष र गाउँपालिका प्रमुख र स्वास्थ्य शाखा प्रमुखलाई जानकारी हुने उनको भनाइ छ ।

यस्तै पञ्चकुले स्वास्थ्य चौकीका इन्चार्ज हेमराज वलीले आफू माघ महिनादेखि मात्रै स्वास्थ्य चौकीमा सरुवा भएर आएकाले सबै कुराको जानकारी नभए भन्दै एम्बुलेन्स ल्याउने विषयमा पहल गरिरहेको बताए । दुर्घटना हुँदा मोटसाइकल चालकको नै गल्ती रहेको भन्ने ट्राफिक प्रहरीले भनेको तर मोटरसाइकल चालकले उपचार खर्च मागेकाले पनि कुरा मिल्न नसकेको उनको भनाइ छ ।

एम्बुलेन्सको आम्दानी केही रहेन छ, तर मोटरसाइकल चालकले उपचारको लागि ५ लाख खर्च मागेकाले त्यो पैसा कसले दिने विषयमा समस्या भएकाले पनि एम्बुलेन्स निकाल्न नसकिएका उनको भनाइ छ । आफूले गाउँपालिकामा एम्बुलेन्स झिकाउने विषयमा पहल गर्दै आएको र गाउँपालिकाबाट कुनै जानकारी नआएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार