तुलसीपुरमा ​​​​​​​एक लाख ३७ हजार बढिले  हात्तीपाइले रोग विरुद्धको औषधि खाए

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १८ गते बिहिवार

दाङ :  तुलसीपुरमा  बिहीबारसम्म​​​​​​​ एक लाख ३७ हजार बढिलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइएको छ ।  फागुन  ११ गतेदेखि शुरु भएको औषधि खुवाउने अभियान अन्तर्गत आठौँ दिन ३ हजार ७७५ जनालाई औषधि खुवाइएको उपमहानगरका जनस्वास्थ्य  प्रबर्द्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए । उनका अनुसार योसँग हालसम्म  एक लाख हजार ३७ हजार २८२ जना अर्थात ७४ प्रतिशत नागरिकले औषधि खाएका छन् ।  उपमहानगरका एक लाख ८४ हजार ५३१ जनसंख्या मध्य ८० प्रतिशत अर्थात एक लाख ६५ हजार जनालाई यो औषधि खुवाउने लक्ष्य लिएको उनले जानकारी दिए ।

 उनका अनुसार जिल्लाका १० स्थानीय तह मध्य तुलसीपुर औषध खुवाउने हिसाबले ७ औँ नम्बरमा रहेको छ । तुलसीपुरका केही वडाहरूमा  अभियान अझै औषधि सेवन गर्ने व्यक्तिहरूको संख्या न्यून देखिएको हुँदा न्यूनतम उपलब्धिमा कमी देखिएको उनको भनाइ छ । जसले कारणले आगामी  वर्ष पनि अभियान  सञ्चालन गर्नु पर्ने अवस्था सिर्जना हुने भन्दै अझै पनि औषधि खुवाउने समय बाँकी रहेको  हुँदा वडाका  जन प्रतिनिधि, टोल संस्थाका अध्यक्ष, सामाजिक अभियानकर्ता, अन्य समिति मार्फत परामर्श गरी लक्ष्य हासिल गर्न सबै आग्रह गरेका छन् ।   

लक्ष्य अनुसार सबैले औषधि खाएपछि मात्र यो रोगलाई निवारण गर्न सकिने भन्दै नखाएमा यो रोगको संक्रमण धेरैलाई बढ्ने पनि उनको भनाइ छ ।  गत वर्ष उपमहानगरमा ७८.३३ प्रतिशतले औषधि खाएको पनि उनले जानकारी दिए । जिल्लामा अहिले २ हजार ४४ जना नयाँ तथा पुराना हात्ती पाइले रोगका बिरामीहरू रहेको र ति मध्य तुलसीपुरमा ३०४ जना रहेको पनि उनले  जानकारी दिए । उनका अनुसार रोगको व्यापकता दर ४.८ प्रतिशत अर्थात एक सय जना मध्य ५ जनामा हात्ती पाइले रोगको परजीवी रहेको एक अध्ययनले देखाएको छ । औषधि खाएर पेटमा र रगतमा भएका जुकाहरू नष्ट हुने भन्दै औषधि नखाएमा  हाइड्रोसिल, खुट्टा  सुन्निने, खोकी लाग्ने, छालाको समस्या हुने पनि उनले जानकारी दिए ।  यो औषधि सुगर, उच्चरक्तचाप, थाइराइड, ग्यास्ट्रिक , नियमित औषधि सेवन गर्ने  लगायतका समस्या भएका पनि सजिलै खान मिल्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार