भवन निर्माणका लागि तुलसीपुरमा महायज्ञ सञ्चालन हुँदै

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १७ गते बुधवार


दाङ :  नेपाल मानव धर्म सेवा समिति आश्रमको भवन निर्माणका लागि तुलसीपुरमा महायज्ञ सञ्चालन हुने भएको छ । नेपाल मानव धर्म सेवा समिति दाङको आयोजनामा फागुन २४ गतेदेखि ३० गतेसम्म ‘ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ’ सञ्चालन हुने भएको हो ।
तुलसीपुर ६ रजौरामा सञ्चालनमा रहेको नेपाल मानव धर्म सेवा समिति आश्रमको व्यवस्थित भवन निर्माणका लागि महायज्ञ सञ्चालन गर्न लागिएको नेपाल मानव धर्म सेवा समिति दाङ शाखा सचिव चन्द्रबहादुर वलीले जानकारी दिए । महायज्ञ सञ्चालन गर्नका लागि तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती संयोजकत्व र तुलसीपुर ६ की वडा सदस्य यमुना परियार सहसंयोजक रहेको महायज्ञ मूल आयोजक समिति गठन गरिएको छ ।

नेपाल मानव धर्म सेवा समितिले सञ्चालन गरेको आश्रम व्यवस्थित हुन नसकेको भन्दै समितिले महायज्ञ सञ्चालन गरेर भवन निर्माणको लक्ष्य राखेको छ । महायज्ञमा पण्डित त्रैलोक्य शरण वस्तीले कथा वाचन गर्ने कार्यक्रम तय गरिएको सचिव वलीले जानकारी दिए ।  हिन्दु धर्म संरक्षण र प्रवर्द्धनमा क्रियाशील रहेको नेपाल मानव धर्म सेवा समितिले महायज्ञ मार्फत लक्ष्य पूरा गर्ने मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले जानकारी दिए। महायज्ञ मार्फत तुलसीपुरको चिनारी तथा एउटा व्यवस्थित आश्रम सञ्चालन गर्नलाई सबैले सहयोग समेत गर्ने संयोजक घर्तीले अपेक्षा गरे ।

महायज्ञ सञ्चालनका लागि मूल आयोजक समितिले बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेको छ । व्यवस्थित आश्रम नहुदाँ दैनिक रुपमा गरिने क्रियाकलापलाई समेत समस्या भएको भन्दै समितिले पत्रकार सम्मेलन गरेर महायज्ञ मार्फत भवन निर्माणको तयारी थालेको हो ।  पत्रकार सम्मेलनमा मूल आयोजक समितिकी सहसंयोजक यमुना परियारले महायज्ञ मार्फत आश्रमका लागि भवन निर्माण गर्नलाई तुलसीपुर क्षेत्रका व्यवसायी, उद्योगी तथा समाजसेवीलाई आग्रह समेत गरे  । 

महायज्ञमा एक रुपैयाँदेखि पाँच सय रुपैयाँ सहयोग गर्ने दाताले दान पेटिका मार्फत रकम उपलब्ध गराउने ब्यवस्था गरिएको छ । यस्तै पाँच सय एक रुपैयाँदेखि एक हजारसम्म सहयोग उपलब्ध गराउने दातालाई नगदी रसिद, एक हजारदेखि पाँच हजारसम्म सहयोग उपलब्ध गराउने दातालाई नगदी रसिद तथा रुद्राक्षको मालासहित अबिर लगाएर सम्मान गर्ने मूल आयोजक समितिले निर्णय गरेको छ । 

यस्तै पाँच हजार एक रुपैयाँदेखि दश हजार सम्मलाई नगदी रसिद, रुद्राक्षको माला र प्रमाण पत्रले सम्मान गर्ने, एघार हजारदेखि २० हजार सम्मलाई प्रमाण पत्र, शिलालेखमा नाम लेखाउने, नगदी रसिद उपलब्ध गराउने, २० हजार एक रुपैयाँदेखि ३० हजार सम्मको सहयोग उपलब्ध गराउने दातालाई शिलालेखमा नाम, प्रमाण पत्र, नगदी रसिद दिएर सम्मान गर्ने, ३० हजार एक रुपैयाँदेखि ५० हजार सहयोग उपलब्ध गराउने दातालाई चाँदीको फ्रेम, शिलालेखमा नाम लेखाउने र नगदी रसिद र ५० हजार एक रुपैयाँदेखि एक लाखसम्म सहयोग उपलब्ध गराउने दातालाई शिलालेखमा नाम, स्वर्ण फ्रेमको प्रमाण पत्र र अबिर मालासहित बजार परिक्रमा गराउने निर्णय भएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार